बिहेका लागि बेरोजगार भारतीय युवा नेपालमा

शनिबार, वैशाख २२, २०८१

बैतडी - पछिल्लो समय भारतको पिथौरागढ जिल्लाका बेरोजगार युवा आफ्नै देशमा दुलही पाउन कठिन भएपछि विवाहका लागि नेपाल आउन थालेका छन् ।

पिथौरागढका महेन्द्र सिंहले छोराको विवाहका लागि कैयौँ गाउँ घुमे पनि नोकरी नभएकाले कसैले छोरी दिन नमानेको बताउँदै भने, “बैतडीबाट छोराको विवाह गर्नुपर्‍यो ।” पिथौरागढकी विमला देवीले पनि बेरोजगार छोरालाई भारतमा कसैले दुलही दिन नमानेका कारण बैतडी र दार्चुला पुगेको सुनाइन् ।


पछिल्लो समय बेरोजगारीका कारण आफ्नै देशमा दुलही पाउन नसक्दा नेपाल आउने भारतीय युवाको सङ्ख्या बढेको भारतीय सञ्चारमाध्यमले पनि जनाएका छन् । नेपालको गरिबी र भारतीय युवाको बेरोजगारीले अन्तरदेशीय वैवाहिक सम्बन्ध बढ्न थालेको सञ्चारमाध्यमले विश्लेषण गरेका छन् । पिथौरागढका सञ्चारकर्मी सुरेन्द्र आर्यले भारतीय बेरोजगार युवाले आफ्नो देशमा दुलही पाउन कठिनाइ भएको विषय भारतीय अखबारमा समाचार बन्न थालेको बताए ।

उनले नेपाल–भारतबिच रोटीबेटीको पुरानो सम्बन्ध भए पनि केही वर्षयता यस्तो सम्बन्ध घटेकोमा कोरोनापछि पुनः नेपाल–भारतबिचका सीमान्तकृत गाउँमा विवाह बढेको बताए । कोरोना सङ्क्रमणले अर्थतन्त्रमा परेको प्रभावका कारण भारतमा अहिले दाइजो प्रथासमेत घटेको छ । छोरी दिए पुग्छ भन्ने अवस्था आए पनि दुलहाका लागि बेरोजगारी तगारो बन्ने गरेको छ ।


 

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  ०६:३४
प्रतिक्रिया दिनुहोस्