देशका विभिन्न ठाउँका आगलागी पीडित खाना र छानाविनै बस्न बाध्य

बिहीबार, वैशाख २०, २०८१

काठमाण्डाै – पछिल्लो एक महिनादेखि देशका विभिन्न ठाउँमा डढेलो र आगलागीले ठूलो जनधनको क्षति गरे पनि सरकारले राहत र पुनर्स्थापनामा पर्याप्त चासो नदिएको भन्दै गुनासो बढेको छ ।महोत्तरी, काभ्रेसहित देशका विभिन्न ठाउँका आगलागी पीडितहरू पुनर्स्थापनाकाे पर्खाइमा छन् ।

महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवागाछीमा गएको वैशाख १२ गते आगलागीबाट एक सय वटाभन्दा धेरै घर जलेका थिए । अहिले प्रभावित बस्तीका सबैजसो परिवारमा एक महिनासम्म पुग्ने तयारी खानेकुरा, खाद्यान्न दाल, चामलसहितका भान्साका सामग्री, लुगा र अत्यावश्यक भाँडाकुँडा प्राप्त भएको छ । अहिले जुटेको सहयोगबाट पीडित परिवारलाई खान र आङ ढाक्न सक्ने अवस्था बने पनि बासको प्रबन्ध नहुँदा खुला आकाशमुनि बस्नुपर्ने बाध्यता रहेको छ ।

मटिहानीका मेयर हरिप्रसाद मण्डलका अनुसार मटिहानीमा पुनर्स्थापना, पुनर्लाभ र पुनर्निर्माणका कामलाई तत्कालै अगाडि बढाउनुपर्ने आवश्यकता छ । तर पालिका एक्लैको प्रयास पर्याप्त नभएको उहाँको भनाइ छ । पुनर्स्थापना र पुनर्निर्माणका लागि प्रदेश, केन्द्र सरकार र अन्य निकायसँग पनि निरन्तर छलफल तथा समन्वय भइरहेको नगरपालिकाले जनाएको छ ।

यस्तै आगलागीले बस्ती नै जलेपछि काभ्रेको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका पीडित बिचल्लीमा परेका छन् । बस्ने घर, ओढ्ने ओछ्याउने, लत्ताकपडा र खाने अन्नपात सबै जलेर नष्ट भएको छ । विपद् व्यवस्थापन समिति र सहयोगी सङ्घ–संस्थाले दिएको राहतको भरमा बस्नुपर्ने अवस्था रहेको पीडित कान्छीमाया तामाङले बताउनुभयो ।

सानोपोटा गाउँमा गएको मङ्गलवार दिउँसो भएको आगलागीमा १५ वटा घर जलेर नष्ट भएका थिए । गाउँ नजिकैको सामुदायिक वनको डढेलो बस्तीमा पसेको थियो । पीडितको दीर्घकालीन व्यवस्थापन तथा पुनर्स्थापना गर्ने विषयमा छलफल भइरहेको गाउँपालिकाका अध्यक्ष दिनेश लामाले बताउनुभयो ।

यस्तै पाल्पामा भएको आगलागीमा परेर ३८ वटा घरगोठ जलेका छन् । रामपुर नगरपालिका–४ र ५ का साथै पूर्वखोला गाउँपालिका–६ हेक्लाङमा जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिएपछि ३८ वटा घरगोठ जलेका हुन् । पूर्वखोलाको हेक्लाङमा २७ वटा घरगोठ र रामपुर नगरपालिकाको ४ र ५ मा ११ वटा घरगोठ घरगोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

यस्तै सोलुखुम्बुमा जङ्गलको डढेलो गाउँमा सल्किँदा १० वटा घर जलेर नष्ट भएका छन् । थुलुङ दूधकोशी गाउँपालिका–३ पञ्चनमा आगोले भएको क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । साेलुखुम्बुकै नेचासल्यान गाउँपालिका–२ डिटीमा आज बिहान दुई वटा घर जलेका छन् ।

यस्तै उदयपुरको लिम्चुङबुङ गाउँपालिका–५ हिम्मा ढुकुरथुम्कामा रहेको रानी सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पस्दा तीन वटा घर र तीन वटा गोठ जलेका छन् । उदयपुरकै त्रियुगा नगरपालिका–१३ भातीखर्कका जगतबहादुर राईको घर जलेर नष्ट भएको छ ।

अहिले पनि देशका ५३ जिल्लाको चार सय ३६ वटा ठाउँमा डढेलो लागिरहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका डढेलोविद् सुन्दर शर्माले लामो समयसम्म पानी नपरेको र हावा चलेका कारण डढेलो फैलिरहेको बताउनुभयो । नेपालको भौगोलिक विकटताका कारण डढेलो निभाउन समस्या छ ।

प्राधिकरणका अनुसार हिजो ३९ जिल्लाका एक सय ६५ वटा स्थानमा वन डढेलो लागेको थियो । डढेलोको जोखिम थप फैलिएको र पानी नपरेसम्म निभाउन मुस्किल छ । डढेलो निभाउने गरी पानी पर्ने सम्भावना तत्काल नदेखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १८:२१
प्रतिक्रिया दिनुहोस्