जनताका समस्या समाधानका लागि कर्मचारीतन्त्र बाधक : ओली

बिहीबार, वैशाख २०, २०८१

काठमाडौँ- एमाले अध्यक्ष केपी शर्मा ओलीले सुकुम्वासी बस्तीमा डोजर चलाउन बन्द गर्न आग्रह गरेका छन् । उनले सुकुम्वासीहरूको व्यवस्थापनका लागि तीनै तहको सरकार उत्तरदायी हुनुपर्ने बताए । बिहीबार महिला सशक्तीकरण, सांस्कृतिक तथा व्यापार महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भत्काउने नभई बनाउने अभियान चलाउनुपर्ने बताए । 

उनले भने, ‘सुकुम्वासी बस्तीमा हामीले डोजर देखाएर आतङ्क फैलाइरहेका छौँ । डोजर चलाउन बन्द गरेर उनीहरूको समस्या समाधान गर्न र व्यवस्थापन गर्नतिर लाग्न आवश्यक छ । सुकुम्वासी कहिल्यै पनि विकासका बाधक हुन सक्दैनन् । उनीहरूलाई व्यवस्थापनका लागि लाग्न आवश्यक छ ।’ जनताका समस्या समाधानका लागि कर्मचारीतन्त्र बाधक भइरहेको उल्लेख गर्दै अध्यक्ष ओलीले गरिब विरुद्ध डोजर चलाउन रोक्नुपर्ने बताए । 

उनले भने, ‘अहिले हामी सरकारमा आएका छौँ । तर विभिन्न वहानामा कर्मचारीतन्त्र बाधक बनिरहेका छन् ।  जनताका समस्याप्रति जिम्मेवार बन्न आग्रह गर्न चाहन्छु । लोकतन्त्रमा जे पनि गर्न मिल्दैन ।  सुकुम्वासी समस्या व्यवस्थापन गर्नुपर्छ र समाधान गरेर जानुपर्छ ।’ आफू प्रधानमन्त्री हुँदा भोकमरीले कोही पनि मर्न नदिने कसमको खाएको उल्लेख गर्दै उनले सरकारले सबैभन्दा बढी जोड गरिबी निवारणमा दिएको र दिनुपर्ने औँल्याए । 

उनले भने, ‘सरकारले सबभन्दा बढी जोड गरिबी निवारणमा दिनुपर्दछ । मैले प्रधानमन्त्री हुँदा भनेको थिए भोकमरीले कोही मर्दैनन् । अर्को पटक प्रधानमन्त्री हुँदा पनि गरिबी निवारणका लागि धेरै काम गरेको छु । सडकमा मान्छे भोकै सुत्दापनि सरकार चलाएको छु भन्न मिल्छ ? देश र जनताले भोगिरहेका समस्याप्रति गम्भीर हुन म सबैलाई आग्रह गर्दछु । सुकुम्वासीलाई व्यवस्थापन गर्नुपर्दछ । जहाँसुकै जाऊ भन्न मिल्दैन ।’

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १७:१३
प्रतिक्रिया दिनुहोस्