उपत्यकाव्यापी अन्तरपालिका मेयर कप : काठमाडौँ महानगर क्वाटर फाइनलमा

बिहीबार, वैशाख २०, २०८१

काठमाडौँ - उपत्यकाव्यापी अन्तरपालिका मेयर कप फुटबल प्रतियोगितामा काठमाडौँ महानगरपालिका क्वाटर फाइनलमा पुगेको छ । गोदावरी नगरपालिका वडा नं. १० टाहाखेल, झ्यालुन्टार खेल मैदानमा बुधबार भएको प्रतिस्पर्धामा ४-३ अन्तरमा बुढानीलकण्ठ नगरपालिकालाई हराउँदै महानगरपालिका क्वाटर फाइनलमा पुगेको हो । खेलको ९० औँ मिनेटसम्म पनि कुनै टोलीबाट गोल नभएपछि पेनाल्टीबाट निर्णय गरिएको हो । 

खेलमा काठमाडौँका लागि सरोज तामाङ्, मनिष सेढाईँ, असिम गुरुङ् र एरिक विष्टले पेनाल्टीमा गोल गरेका थिए । प्रशिक्षक सन्तोष न्यौपाने र पूर्व राष्ट्रिय खेलाडी विराज महर्जनको कप्तानीमा महानगरपालिकाका खेलाडीले प्रतिस्पर्धामा छन् । खेलाडीहरुको व्यवस्थापन सामाजिक विकास विभाग र खेलकुद विज्ञ नविन चित्रकारले गरेका छ्न ।

खेलमा काठमाडौँ महानगरपालिकासँगै गोदावरी बी, कीर्तिपुर, मध्यपुर थिमी, नागार्जुन, चन्द्रागिरी, महालक्ष्मी र दक्षिणकाली गरी ८ वटा टीम क्वाटर फाइनलमा पुगेका हुन् । 
वैशाख १५ गते सुरु भएको खेलमा उपत्यकाका १४ वटा स्थानीय तहबाट १५ वटा टीमले भाग लिएका छन् । 

प्रतियोगिताको बिजेता टीमलाई नगद ५ लाख रुपैयाँ, उपविजेता टीमलाई नगद ३ लाख रुपैयाँ, अनुशासित टीमलाई नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ ।

उत्कृष्ट गोलकिपर, डिफेन्सर, फरवार्डर, सर्वाधिक गोलकर्ता र प्रशिक्षकलाई नगद २५ हजार रुपैयाँका दरले पुरस्कृत गरिनेछ ।वैशाख २९ गते समापन कार्यक्रम हुनेछ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १०:३५
प्रतिक्रिया दिनुहोस्