नेपालीलाई चीन जान नि:शुल्क भिसा, अर्को सातादेखि लागू हुने

बिहीबार, वैशाख २०, २०८१

चीनले नेपाली नागरिकलाई अर्को सातादेखि नि:शुल्क भिसा उपलब्ध गराउने भएको छ । चीन सरकारले बुधबारदेखि लागू गरे पनि शुक्रबारसम्म चीनको सार्वजनिक बिदा परेका कारण अर्को सातादेखि कार्यान्वयनमा आउनेछ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको औपचारिक चीन भ्रमणमा भएको दुईपक्षीय सहमति चीनले कार्यान्वयन गर्न लागेको हो ।

मजदुर दिवसको बिदाका कारण काठमाडौंस्थित चिनियाँ भिसा आवेदन केन्द्र शुक्रबारसम्म बन्द रहनेछ । ‘अब नियमित प्रक्रियाबाट चिनियाँ भिसा प्राप्त गर्न नेपालीले पैसा तिर्नुपर्दैन । दु्रत सेवा (नियमित समयभन्दा अघि भिसा लिन चाहेमा)का लागि मात्रै शुल्क तिर्नुपर्छ,’ काठमाडौंस्थित चिनियाँ दूतावासका एक अधिकारीले नयाँ पत्रिकासँग भने, ‘स्ट्यान्डर्ड र ग्रुप भिसा भनेर छुट्याएका छौँ । स्ट्यान्डर्ड भिसाका लागि एक्सप्रेस वानअन्तर्गत चार हजार रुपैयाँ र एक्सप्रेस टुअन्तर्गत दुई हजार सात सय रुपैयाँ भिसा शुल्क तोकिएको छ । गु्रप भिसाका लागि एक्सप्रेस वानमा दुई हजार र एक्सप्रेस टुमा जम्मा एक हजार ३५० रुपैयाँ तिर्नुपर्नेछ । नियमित प्रक्रियाअन्तर्गत आवेदकले चिनियाँ भिसा एक साताभित्रै पाउनेछन् । 

‘परराष्ट्रमन्त्री श्रेष्ठको चीन भ्रमणका क्रममा चिनियाँ नेताहरूसँग भएका छलफलअनुसार चीन पक्षले १ मेदेखि लागू हुने गरी मेनल्यान्ड चीनको भिसा शुल्क हटाउने निर्णय गरेको छ,’ मन्त्रालयले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेको छ । उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य वाङ हुनिङ, विदेशमन्त्री वाङ यीलगायत उच्च अधिकारीसँगको भेटमा सन् २०१६ देखि नेपालले चिनियाँलाई नेपाल भ्रमण गर्दा भिसा शुल्क नि:शुल्क गरेको जानकारी दिँदै नेपालले पनि यो अपेक्षा गरेको बताएका थिए ।

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १०:१७
प्रतिक्रिया दिनुहोस्