भाजपाको जारी लोकसभा निर्वाचन अवलोकन गर्न नेपालको पाँच दललाई निम्तो

बुधबार, वैशाख १९, २०८१

काठमाडौँ- भारतीय जनता पार्टी (भाजपा) ले जारी लोकसभा निर्वाचनको अवलोकनका लागि नेपालसहितका विभिन्न १० देशका १८ राजनीतिक दलका प्रतिनिधिहरूलाई निम्ता दिएको छ । 

भाजपाका विदेश विभाग इन्चार्ज डा. विजय चौथाइवालेले आज जारी गरेको विज्ञप्तिमा नेपालका पाँच दललाई समेत निम्ता गरिएको उल्लेख छ । प्रमुख दल नेपाली काँग्रेस, सत्तारुढ दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीलाई आमन्त्रण गरेको हो भने यी दलका प्रतिनिधिलाई बिजेपी मुख्यालयमा आज उपस्थित हुन भनिएको छ । 

भाजपाको ग्लोबल आउटरिच कार्यक्रम अन्तर्गत ‘नो बिजेपी’ अर्थात् भाजपाबारे बुझाउने उद्देश्यले यी दलका नेताहरूलाई दिल्लीमा स्वागत बोलाएको हो । 

त्यहाँ भाजपा अध्यक्ष जेपी नड्डासँग नेपालसहित विभिन्न देशका प्रतिनिधिहरूले भेटवार्ता गर्ने जनाइएको छ । साथै, भारतीय विदेश मन्त्री एस जयशंकर र रेलवे मन्त्री अश्विनी वैष्णवसँग पनि प्रतिनिधिहरूले अन्तरक्रिया गर्ने कार्यक्रम छ । 

कार्यक्रममा अष्ट्रेलियाको लिबरल पार्टी, भियतनामको कम्युनिस्ट पार्टी, बंगलादेशको अवामी लीग, इजरायलको लिकुड पार्टीका प्रतिनिधिहरू सामेल छन् । 

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १२:२२
प्रतिक्रिया दिनुहोस्