डोल्पाबाट निर्वाचित सबै सांसद मन्त्री

मंगलबार, वैशाख १८, २०८१

काठमाडौं- कर्णाली प्रदेश सरकार विस्तार भएको छ । मंगलबार मुख्यमन्त्री यामलाल कँडेलले ५ मन्त्री र १ राज्यमन्त्री नियुक्त गरेका छन् ।

मुख्यमन्त्री कँडेलले मंगलबार माओवादी केन्द्रबाट निर्वाचित कालिकोटका दुर्गबहादुर रावत, रुकुम पश्चिमका महेन्द्र केसी र डोल्पाका वीरबहादुर शाही मन्त्री बनेका छन् । केसीले आर्थिक मामिलामन्त्री, शाहीले सामाजिक विकास र रावतले उद्योग वन तथा पर्यटन मन्त्रालयको जिम्मा पाएका छन् । यस्तै यसअघि बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका रणसिंह परियारले उर्जा मन्त्रालयको जिम्मा पाएका छन् ।

मुख्यमन्त्री कँडेलले आफ्नो दल एमालेबाट भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीमा शेरबहादुर बुढा, भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा विनोद कुमार शाहलाई नियुक्त गरेका छन् । उनले सांसद गोमता विकलाई भौतिक राज्यमन्त्री बनाएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालय मुख्यमन्त्री कँडेल आफैंले राखेका छन् ।

उनीहरूलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

मंगलबार विस्तार भएको सरकारमा डोल्पाबाट २ सांसद मन्त्री हुँदा प्रत्यक्षतर्फ निर्वाचित भएका तीनै जनाले मन्त्रीको कुर्सीमा पुग्ने अवसर पाएका छन् । माओवादीबाट मन्त्री बनेका शाही डोल्पा प्रदेश सभा (ख) बाट निर्वाचित सांसद हुन् भेन एमालेका बुढा प्रदेश सभा (क) का सांसद हुन् ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको केन्द्रीय सरकारमा पनि डोल्पाबाट निर्वाचित धनबहादुर बुढा मन्त्री नियुक्त भएका छन् । एकीकृत समाजवादीबाट निर्वाचित बुढा सहरी विकासमन्त्री छन् । पहिलो पटक विकट हिमाली जिल्ला डोल्पाले एकैपटक तीन जनालाई मन्त्रीको रुपमा पाएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १९:२८
प्रतिक्रिया दिनुहोस्