९ महिनाको अवधिमा साइबर अपराधका १५ हजार उजुरी

सोमबार, वैशाख १७, २०८१

काठमाडौँ - साइबर ब्यूरोको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि हालसम्मको अवधिमा मात्रै १५ हजार ६ वटा उजुरी परेका छन् । तीमध्ये मुद्दा चलेका ७३ जनालाई ब्यूरोले पक्राउ गरेको छ भने कतिपयलाई सम्झाइबुझाई सहमतिमा ल्याउने गरेको छ । 

प्रहरी प्रवक्ता डिआइजी भीमप्रसाद ढकाल साइबर अपराध सचेतना, साइबर सुरक्षा र साइबर अपराध अनुसन्धान समेतको कार्य गर्न साइबर ब्यूरा सक्रिय रहेको दाबी गर्छन् । 

उनका अनुसार यी ९ महिनामा दर्ता भएका उजुरीमध्ये सामाजिक सञ्जालतर्फ फेसबुक र म्यासेन्जरको दुरुपयोगका उजुरी सबैभन्दा धेरै छन् । यो अवधिमा फेसबुक र म्यासेन्जरमार्फत् दुरुपयोगका १२ हजार २९६ वटा उजुरी परेका साइबर ब्यूरोले जनाएको छ । 

भाइवरका १८ वटा, इमोका ९ वटा, युट्युबका ५१ वटा, ह्याट्सएपका ७ सय २४ वटा, ट्वीटरका १० वटा, इन्स्ट्राग्रामका ६ सय ८६ वटा, वेबसाइट ह्याकिङका १० वटा, टिकटकका ६ सय ७८ वटा, इमेलका ९३ वटा, ई सेवाका २ सय ६६ वटा र वित्तीय संस्थातर्फ १ सय ६५ वटा रहेका छन् । आर्थिक वर्ष २०७९/०८० मा ९ हजार १३ वटा र आर्थिक वर्ष २०७८/०७९ मा ४ हजार ६८६ वटा निवेदन प्रहरीमा दर्ता भएका थिए । प्राप्त निवेदनमध्ये चालु आर्थिक वर्षमा ७४ वटा, आर्थिक वर्ष २०७९/०८० मा १ सय २७ र आर्थिक वर्ष २०७८/०७९ मा १ सय ३२ वटा मुद्दा दर्ता भएका थिए । 

प्रविधिको दुरुपयोगका कारण अपराधमा नयाँ शैली र प्रवृत्तिले अपराध अनुसन्धान कार्य थप चुनौतीपूर्ण हुँदै गएको डिआइजी ढकालले बताए ।

सरकारले साइबर चुनौतीको सामना गर्दै वर्तमान र आगामी दिनमा प्रविधि प्रयोग भई हुने अपराधको रोकथाम तथा सफल अनुसन्धान गर्ने उद्देश्यले २०७५ जेठ २७ गते साइबर ब्यूरो स्थापना गरेको थियो । साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिपकराज अवस्थाले साइबर अपराध सम्बन्धी निवेदन दर्ताको चाप बढ्दो क्रममा रहेको बताए । 

 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १०:५३
प्रतिक्रिया दिनुहोस्