रिडी-तम्घास सडक आजदेखि एक महिनासम्म बन्द

सोमबार, वैशाख १७, २०८१

गुल्मी - गुल्मीको रिडी–तम्घास सडकखण्ड आजदेखि एक महिनासम्म बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी रिडी–तम्घास सडकखण्ड बन्द हुने भएकाले वैकल्पिक सडक प्रयोग गरी यात्रा गर्न आग्रह गरेको छ ।


सडकका केही ठाउँमा कडा चट्टान फोर्नुपर्ने र ग्रेड मिलाउनुपर्ने भएकाले वैशाख १७ गतेदेखि जेठ १५ गतेसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म र राति १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।


मदन भण्डारी राजमार्गअन्तर्गत रिडीदेखि बलेटक्सारसम्मको २५ किलोमिटर क्षेत्रमा सडक स्तरोन्नतीसँगै कालोपत्रे गर्ने काम हुँदै आएको छ ।

गुल्मी जिल्ला सदरमुकाम तम्घास आउने यो मुख्य सडक निकै साँघुरो र जिर्ण थियो । यसलाई विस्तार गरेर ७.७५ मिटर चौडाइको बनाइने छ । सडक चौडा पार्न गत चैत महिनामा पनि करिब एक महिनासम्म सवारी आवागमन बन्द गरिएको थियो ।


 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  ०८:२७
प्रतिक्रिया दिनुहोस्