सन्दीप लामिछानेको मुद्दा आइतबार पनि ‘हेर्न नभ्याइने’मा

आइतबार, वैशाख १६, २०८१

काठमाडौं - काठमाडौं जिल्ला अदालतबाट बलात्कार अभियोग ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आइतबार पनि ‘हेर्न नभ्याइने’मा परेको छ ।


उच्च अदालतका न्यायाधीशद्वय धीरबहादुर चन्द र चन्द्रमणि ज्ञवालीको इजलासमा परेको मुद्दा छैटौँ नम्बरमा परेको थियो ।


तेस्रो नम्बरको सुनुवाइ हुँदा हुँदै चौथो र पाँचौँ नम्बरमा रहेका दुई मुद्दा स्थगित भएपछि मध्याह्नमै सन्दीपको मुद्दालाई यसपछिको सुनुवाइ भनेर पेसी सूचीमा जनाइएको थियो ।

खाजा समयअघि नै पेसी सूचीमा सुनुवाइ भइरहेको जनाइएको मुद्दा अन्तिममा भने ‘हेर्न नभ्याइने’मा परेको भनिएको छ ।


यसअघि यही वैशाख १० गते उच्च अदालत पाटनका न्यायाधीशद्वय सुनदर्शनदेव भट्ट र पुरुषोत्तमप्रसाद ढकालको इजलासमा पनि सन्दीपको मुद्दा हेर्न नभ्याइनेमा परेको थियो ।

त्यसअघिको न्यायाधीशद्वय मनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासले गौशाला २६ (छ)को जन्मदर्ता प्रमाणपत्रसँगै जन्मदर्ताका लागि दिएको निवेदनको सक्कल कपी झिकाउने आदेश गरेका थियो ।

काठमाडौं जिल्ला अदालतले गौशाला २६ (छ)लाई जबरजस्ती करणी गरेको ठहर गर्दै आठ वर्ष कैद र तीन लाख जरिवाना तथा थप दुई लाख क्षतिपूर्तिको फैसला गरेको थियो । न्यायाधीश शिशिरराज ढकालको इजालसले गरेको फैसलाविरुद्ध सन्दीपले गएको फागुन १० गते पुनरावेदन गरेका थिए ।

काठमाडौं जिल्ला अदालतले गौशाला २६ (छ)लाई बालिग ठहर गरेको तथा सन्दीपलाई न्युनतम सजाय तोकेको भन्दै त्यसविरुद्ध सरकारी वकिल कार्यालयले पनि पुरावेदन गरेको छ ।

दुबै मुद्दामा यसअघि नै एकसाथ सुनुवाइ सुरू भइसकेको छ । यसअघि उच्च अदालतले पीडित गौशाला २६ (छ) को जन्मदर्ताको लागि दिएको निवेदनको सक्कल प्रतिसहित जन्मदर्ताको प्रमाणपत्र झिकाउने आदेश गरेको थियो ।

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १८:२१
प्रतिक्रिया दिनुहोस्