८ अर्ब लगानीमा काठमाडौंकै ठूलो विद्युत् प्रसारणलाइन र सव-स्टेशन उद्घाटन

आइतबार, वैशाख १६, २०८१

काठमाडौं- काठमाडौं उपत्यकाकै सबैभन्दा ठूलो विद्युत सब-स्टेशन र प्रसारणलाइन उद्घाटन भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तनहुँको मार्की चोकदेखि काठमाडौंको मातातीर्थ सब-स्टेशनसम्मको करिब ८८ किलोमिटर २२० केभी प्रसारणलाइन र मातातीर्थमै रहेको समान क्षमताको सब-स्टेशन उद्घाटन गरेका हुन् ।

प्रसारणलाइन ४ र सबस्टेशन ४ गरी करिब ८ अर्ब रूपैयाँ लागतमा यी विद्युत् पूर्वाधार तयार भएको नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

त्यस निम्ति पहिलो चरणमा एसियाली विकास बैंकको सहयोगमा १० वटा सबस्टेशन तथा भूमिगत प्रसारणलाइन निर्माण चरणमा रहेको प्राधिकरणले जानकारी दिएको छ ।

करिब ८८ किमि लामो २२० केभी प्रसारण लाइन तथा मातातीर्थमा २२० केभी ३२० एममीए क्षमताको सवस्टेशन सञ्चालनमा आएको हो।

२२० केभी क्षमताको ८८ किमि लाइनमध्ये ८२.२ किमि डबल सर्किट, ४.५ किमि चार सर्किट र १.३ किमि भूमिगत चार सर्किट छ ।

प्रसारण लाइनको लागि करिब ४ अर्ब र निर्माण सम्पन्न हुन लागेको मार्किचोक सवस्टेशन र मातातिर्थ सवस्टेशन गरी सवस्टेशन निर्माणमा करिब ४ अर्बसहित ८ अर्ब लगानी भएको छ ।

उक्त लगानी सरकार र नेपाल विद्युत् प्राधिकरणको सयुक्त लगानी एवम् सासेक पावर सिस्टम एक्सापन्सन परियोजनाअन्तर्गत एशियाली विकास बैंकको ऋण र नर्वे सरकारको अनुदान सहयोगबाट व्यवस्थापन गरिएको छ ।

प्रसारण लाइन निर्माण ठेकेदार कम्पनी टाटा पोर्जेक्ट्स लिमिटेड भारतले जुन, २०१६ मा सुरु गरि नोभेम्बर, २०२२ मा सम्पन्न गरेको थियो ।

मातातीर्थमा २२० केभी सवस्टेशन निर्माण ठेकेदार कम्पनी चाइना मेसिनरी इन्जिनियरिङ कोअर्पोरेशनले डिसेम्बर, २०२० मा शुरु गरि अप्रिल, २०२४ मा सम्पन्न गरेको छ ।

यस मातातीर्थ २२० केभी सवस्टेशन भएर मर्स्याङ्दी बेशिनमा उत्पादित जलविद्युत् र त्रिशुली बेशिनमा उत्पादित जलविद्युत् गरी करिब २००० मेगावाटसम्म विद्युत प्रवाह हुन सक्नेछ ।

यसले गर्दा काठमाडौं उपत्यकामा भविष्यको विद्युत् मागलाई सम्बोधन गर्न सहयोग पुग्नुका साथै समग्र विद्युत प्रणालीको गुणस्तरमा सुधार ल्याउनेछ ।

काठमाडौं उपत्यकाको विद्युतको माग सन २०५० सम्ममा करिब ३२०० मेगावाट पुग्ने प्रक्षेपण गरिएको छ ।

उक्त माग व्यवस्थापनका साथै गुणस्तरिय विद्युत् आपूर्ति गर्न काठमाडौं उपत्यका वरिपरि २२० केभी प्रसारण रिङ मेन प्रणाली र शहरका विभिन्न नदी कोरिडोरहरुमा प्रसारण तथा सवस्टेशन सञ्जाल बिस्तार आयोजना एशियाली विकास बैंकको अनुदान सहयोगमा अन्तर्राष्ट्रिय परामर्शदाता मार्फत तयार भई चरणबद्ध कार्यान्वयनको चरणमा छ ।

यस कार्यको पहिलो चरणको लागि काठमाडौ उपत्यका भित्र एशियाली विकास बैंकको ऋण सहयोगमा १० वटा सवस्टेशन तथा भूमिगत प्रसारण लाइन निर्माणको चरणमा छ।

काठमाडौं उपत्यकामा बढी हुने विद्युत मातातीर्थ सवस्टेशनबाट १३२ केभी प्रसारणलाइनबाट हेटौंडातर्फ पठाइनेछ ।

देशभित्र विद्युत खपत बढाई भरपर्दो र गुणस्तरीय विद्युत आपूर्तिको लागि प्रसारण लाइन र वितरणमा ठुलो लगानीको आवश्यकता छ ।

सन १९११ सालमा फर्पिङ जलविद्युतबाट ५०० किलोबाट विद्युत उत्पादन गरेर शुरु भएको जलविद्युतको यात्रा २०७२ सालसम्म आइपुग्दा १०४ बर्षमा करिब ८०० मेगावाट पुगेकोमा विगत ७ वर्षभित्र करिब ३२५० मेगावाट पुगेको छ ।

करिब ७००० मेगावाट भन्दा बढीका आयोजनाहरू निर्माणका विभिन्न चरणमा छन् । माथिल्लो अरुण १०६३ मेगावाट, दुधकोशी ६७० मेगावाट जलाशययुक्त आयोजनाहरु विश्व बैंक र एशियाली विकास बैंकको नेतृत्वमा वित्तीय व्यवस्थापन हुने अन्तिम चरणमा रहेका छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १६:१२
प्रतिक्रिया दिनुहोस्