इलाम–२ मा दुई हजार ८३९ मत गन्दा खड्काको अग्रता कायमै, घण्टी २०९ मा सिमित

आइतबार, वैशाख १६, २०८१

इलाम - इलाम क्षेत्र नम्बर–२ को उपनिर्वाचनअन्तर्गत फाकफोकथुम गाउँपालिकाका १ र २ नम्बर वडाको मतगणना गरिँदा नेपाली कांग्रेसका उमेदवारको अग्रता कायमै छ ।

यी दुई वडामा दुई हजार ८३९ मत खसेको थियो । कांग्रेस उमेदवार डम्बर खड्का ८२ मतान्तरले अगाडि छन् । यी दुई वडाबाट खड्काले एक हजार १४५ मत प्राप्त गरेका छन् ।
दोस्रो स्थानमा रहेका नेकपा (एमाले)का उमेदवार सुहाङ नेम्वाङले एक हजार ६३ मत ल्याएका छन् । 

तेस्रो स्थानमा स्वतन्त्र उमेदवार डकेन्द्र थेगिम रहेका छन् । मुढा चिह्नका थेगिमले ३११ मत पाएका छन् । चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार मिलन लिम्बूले २०९ मत ल्याएका छन् ।

इलाम नगरपालिका–७ स्थित गौतमबुद्ध सम्मेलन केन्द्र (सिटी हल)मा मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए । इलाम–२ मा एक लाख १५ हजार ८८९ मतदाता रहेकामा ६९ हजार ४२१ जनाले मतदान गरेका छन् ।

इलाम–२ मा इलाम नगरपालिका, देउमाई नगरपालिका, माङ्सेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका, चुलाचुली गाउँपालिका र माई नगरपालिकाका ६, ७ र ८ नम्बर वडा पर्छन् ।

इलाम–२ मा आइतबार मध्याह्नदेखि मतगणना थालिएको हो । यहाँ १९ उमेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

प्रतिनिधिसभा सदस्य पदका निम्ति यहाँ शनिबार (हिजो) मतदान भएको थियो । इलाम–२ बाट जितेका सुवासचन्द्र नेम्वाङको निधन भएपश्चात् रिक्त पदका निम्ति उपनिर्वाचन गरिएको हो ।

 

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १५:३५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार