काठमाडौं महानगरले अटिजमसम्बन्धी विद्यालय खोल्दै

बिहीबार, वैशाख १३, २०८१

काठमाडौं - काठमाडौ  महानगरपालिकाले अटिजम भएका बालबालिकालाई लक्षित गर्दै यससम्बन्धी विद्यालय खोल्ने तयारी गरेको छ । गत आइतबार महानगरका मेयर बालेन्द्र साहको संयोजकत्वमा बसेको महानगरको शिक्षा समिति बैठकले महानगरकै लगानीमा अटिजमसम्बन्धी विद्यालय खोल्ने निर्णय गरेको हो । 

विद्यालय सञ्चालनका लागि अध्ययन गर्न सहरी योजना आयोगका सदस्य शैलेन्द्र झाको संयोजकत्वमा अध्ययन समिति गठन गरेको छ । समितिले विद्यालय खोल्ने क्षेत्र, पाठ्यसामग्री, लगानीलगायत विवरण समेटिएको प्रतिवेदन १५ दिनभित्र पेस गर्नेछ ।


सम्भवतः एक वर्षभित्र विद्यालय सञ्चालनमा ल्याउने गरी काम गरिने महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । उनका अनुसार सबै उमेर समूहका गरी महानगरभित्र करिब दुई सयजना अटिजम अर्थात् स्नायु विकाससम्बन्धी समस्या भएका व्यक्ति छन् । महानगरले सबै उमेर समूहका व्यक्तिहरूलाई सो विद्यालयमा पठनपाठन गराउनेछ । 

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १२:०६
प्रतिक्रिया दिनुहोस्