फेवातालमा डुंगा दुर्घटना, पाँच जनाको सकुशल उद्धार

मंगलबार, वैशाख ११, २०८१

 काठमाडाैं -  कास्की जिल्लाको पोखरा महानगरपालिका–६ फेवातालमा मंगलबार दिउँसो डुंगा दुर्घटनामा परेका पाँच जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

अचानक आएको हावाहुरीको कारण डबल प्याडल बोटमा बोटिङ गरिरहेका काठमाडौँ महानगरपालिका–२९ अनामनगर बस्ने ३० वर्षिय बिक्रम मिकरानी, २६ वर्षिया आशिफा भानु, ५४ वर्षिया अनैजा दिल शाह, ८ वर्षिया रजिना खातुन र करीव डेढ वर्षिया मिरा रानी फेवाताल नजिकै रहेको माछा पालन केन्द्रको जालमा अड्किएका थिए ।

दुर्घटना लगत्तै नं। २४ कालिका गण कास्कीबाट फेवाताल रेस्क्यु वाच टावरमा खटिएको विपद् व्यवस्थापन सहितको टोलीले उनीहरुको तत्कालै सकुशल उद्धार गरेको हो । दुर्घटनामा परेकाहरुको अवस्थामा भने सामान्य रहेको डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

यसअघि चैत्र २९ र २५ गते पनि फेवातालमा अचानक आएको हावाहुरीका कारण डुंगा पल्टिएको थियो । सो दुर्घटनामा परेका एक पुरुष र महिलाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १९:००
प्रतिक्रिया दिनुहोस्