शुक्लाफाँटामा १० वर्षमा बाघको संख्या दोब्बरभन्दा धेरैले वृद्दि

मंगलबार, वैशाख ११, २०८१

कंचनपुर - कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको संख्या एक दशकमा दोब्बरभन्दा धेरैले वृद्धि भएको छ। १० वर्षअघि १७ वटा बाघ रहेको निकुञ्जमा अहिले यो संख्या ४४ पुगेको छ।

निकुञ्ज कार्यालयको तथ्यांकअनुसार सन् २०१३ मा शुक्लाफाँटामा १७ बाघ थिए। पाँच वर्षपछि एउटा घटेर सन् २०१८ मा १६ बाघ मात्रै रहे। त्यसको चार वर्षपछि सन् २०२१ का तीन वटा बढेर बाघको संख्या १९ पुग्यो। एक वर्षकै अवधिमा १७ बाघ बढेर सन् २०२२ मा ३६ पुग्यो।


एक वर्षको अवधिमा तीन  वटा घटेर सन् २०२३ मा यो संख्या ३३ मा झरेको थियो। सन् २०२४ को चौथो महिनासम्म एकैपटक ११ वटा बढेर बाघको संख्या ४४ पुगेको छ। निकुञ्जका अनुसार तीमध्ये २४ भाले, १७ पोथि र तीनको लिङ्ग पहिचान भएको छैन।

क्यामेरा ट्यापिमा नपरेका तीन बाघको लिङ्ग पहिचान नभएको प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले बताए। वयस्क बाघको संख्या बढि हुँदा प्रजनन् क्षमता वृद्धि हुने तथा प्रशस्त आहारा र चोरी शिकारी पूर्ण नियन्त्रण हुँदा बाघको संख्या वृद्धि भएको उनको भनाइ छ।


निकुञ्जको तथ्याङ्कअनुसार बाघको घनत्व प्रतिकिमी सन् २०१३ मा २.४, सन् २०१८ मा ३.४८, सन् २०२१ मा ४.३, सन् २०२२ मा २.५१, सन् २०२३ मा ७.७८ र सन् २०२४ मा ९.९८ रहेको छ। निकुञ्जमा आहारा प्रजातिको घनत्व ६८.०४ प्रतिकिमी रहेको छ।

निकुञ्जलाई २/२ किलोमिटरका ९२ ग्रिड बनाएर हरेक ग्रिडमा एकजोडी स्वचालित क्यामेरा राखिएको छ।

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १८:२४
प्रतिक्रिया दिनुहोस्