राष्ट्रपति पौडेल र कतारका अमिरबीच शीतलनिवासमा भेटवार्ता

मंगलबार, वैशाख ११, २०८१

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता सुरु भएको छ ।

अपराह्न कतारका अमिर राष्ट्रपति निवास शीतल निवास पुग्दा राष्ट्रपति पौडेलले उनलाई स्वागत गरेका थिए ।

शीतल निवासको गण्डकी हलमा सुरु भएको भेटवार्तामा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, सवारी व्यवस्थापनको जिम्मेवारीमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्तेतलगायत विशिष्ट पदाधिकारीहरु संलग्न छन् ।

उनीहरुबीच द्विपक्षीय हित र चासोसहित कूटनीतिक सम्बन्धका विषयमा छलफल हुने बताइएको छ ।

कतारका अमिर अल थानी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै शीलत निवास पुगेका थिए । यसअघि, विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत विशिष्ट पदाधिकारीहरुले अमिर अल थानीलाई स्वागत गरेका थिए ।

अमिर थानीको सम्मानमा राष्ट्रपति पौडेलले आजै रात्रिभोजको आयोजना गर्ने कार्यक्रम छ । कतारका अमिर अल थानी र प्रधानमन्त्री दाहालबीच भोलि बुधबार द्विपक्षीय वार्ता हुने कार्यक्रम छ ।

राष्ट्रपति पौडेलको निमन्त्रणामा कतारका अमिर अल थानी आजै नेपालको दुई दिने राजकीय भ्रमणमा काठमाडौँ आएका हुन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १७:५३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार