पचाल झरनालाई नेपालकै ‘अग्लो झरना’ को मान्यता दिन आग्रह

मंगलबार, वैशाख ११, २०८१

मान्म (कालीकोट)- कालीकोटको पचाल झरना गाउँपालिका–३ मा रहेको पचाल झरनालाई नेपालकै अग्लो झरनाको आधिकारिक मान्यता दिन स्थानीयले आग्रह गरेका छन् ।

पटकपटक नापजाँच गर्दा यसअघि नेपालकै लामो भनिएको झरनाभन्दा अग्लो रहेको पत्ता लागेकाले त्यसको आधिकारिक अभिलेख राखी पूर्वाधार विकासमा लगानी र प्रचारप्रसारमा ध्यान दिन स्थानीयको आग्रह छ ।

स्थानीय शिवराज सेजुवाल पटकपटक नापजाँच गरेर नेपालकै अग्लो दाबी गरिए पनि आधिकारिक अभिलेख राख्ने निकायले ध्यान नदिँदा पर्यटन प्रवद्र्धनका कामसमेत हुन नसकेको बताउछन् ।

“यो झरना नेपालकै लामो हो भन्ने देखिएको छ तर त्यसको आधिकारिक अभिलेख राखिएको छैन । यदि सो अभिलेख राखी झरनाको संरक्षण, विकास तथा पर्यटन प्रवद्र्धन गर्न सकिए कर्णालीको आकर्षक गन्तव्य बन्नसक्छ र यसतर्फ सरोकारवालाको ध्यान जान जरूरी छ”, उनले भने ।

पचाल झरना गाउँपालिकाका प्राविधिक इञ्जिनियर कुलप्रसाद न्यौपानले पनि झरना यसअघि नेपालकै अग्लो भनिएको तेह्रथुमको ह्याप्तुङ झरना (तीन सय ६५ मिटर) भन्दा अग्लो रहेको बताए ।

यो झरना चार सय १५ मिटर अग्लो रहेको उनको भनाइ छ । “गाउँपालिकाले गरेको सर्वेक्षणमा पचालझरना खसेको ठाउँदेखि तल ठोक्किएको ठाउँसम्म तीन सय ८१ मिटर उचाइ र ठोक्किएको ठाउँबाट तल झरेको ठाउँसमेतको दूरी लिँदा चार सय १५ मिटर अग्लो रहेको पाइयो”, न्यौपानेले भने, “पर्यटन बोर्डले यसलाई मान्यता दिएमा सबैको ध्यानाकर्षण हुन्थ्यो ।

जसले पर्यटन प्रवद्र्धनका काम गर्न पनि सहज हुने हाम्रो बुझाइ छ ।” गाउँपालिकाका अध्यक्ष देवजङ्ग शाहीले गाउँपालिकाले झरनासम्म पुग्नका लागि पैदलमार्ग, होमस्टे र सूचना केन्द्र स्थापना गरे पनि अन्य निकायबाट सहयोग नपाइएको गुनासो गरे ।

“नेपाल पर्यटन बोर्डले अग्लो झरना भनेर अभिलेख नराखिदिँदा प्रचारप्रसार गर्न सकिएको छैन । त्यसैकारण कर्णालीकै प्रमुख पर्यटकीय गन्तव्य बन्नसक्ने यो झरना ओझेलमा परेको छ”, अध्यक्ष शाहीले रासससँग भने । यो झरना सन् २०२० मा सरकारको सय गन्तव्यभित्र परेको थियो ।

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १७:१४
प्रतिक्रिया दिनुहोस्