लगानी सम्मेलनमा १४८ वटा आयोजना शोकेसमा राख्न स्वीकृति

मंगलबार, वैशाख ११, २०८१

काठमाडौँ- वैशाख १६ र १७ गते हुन लागेको तेस्रो लगानी सम्मेलनका क्रममा १४८ आयोजनाको प्रस्ताव तयार पारिएको छ ।

मंगलबार काठमाडौँमा बसेको लगानी बोर्डको बैठकले लगानी सम्मेलनका लागि प्राविधिक समितिबाट सिफारिस भई आएका उक्त आयोजनाहरूलाई शोकेसमा राख्नका लागि स्वीकृति दिइएको हो । बोर्डका प्रवक्ता एवं सहसचिव प्रद्युम्नप्रसाद उपाध्यायले केही छुटेका परियोजनालाई सम्मेलनमा शोकेसमा राख्नका लागि कार्यान्वयन समितिको बैठकले छलफल गरी आवश्यक निर्णय लिने जानकारी दिए ।

त्यसमा केही परियोजनाहरू छुटेको भए थप गर्न पनि प्रधानमन्त्री दाहालले बोर्डलाई निर्देशन दिएका छन् । त्यसैगरी बैठकले ह्वासिङ नारायणी सिमेन्टको थप लगानीसम्बन्धी प्रस्ताव पनि स्वीकृत गरेको छ ।

ह्वासिङ नारायणी सिमेन्टले ६ अर्ब ६३ करोड ४० लाख थप बजेट लगानी गर्ने प्रस्ताव ल्याएको थियो । त्यसमा लगानी गर्नुअघि बोर्डको अनुमति लिनुपर्ने व्यवस्था छ । त्यसैगरी डाबर नेपाल प्राइभेट लिमिटेडले इन्भेष्टमेण्ट थप्ने र प्रडक्टलाई पनि थप्ने भन्ने प्रस्तावलाई पनि बैठकले स्वीकृति प्रदान गरेको छ ।

बैठकमा निजी क्षेत्रले लगानी सम्मेलनको तयारीका विषयमा प्रसन्नता व्यक्त गरेको र विभिन्न ऐन संशोधन गर्ने सरकारको तयारीप्रति आभार व्यक्त गरेको उपाध्यायले बताए ।

बैठकमा बोर्डका पदाधिकारीले लगानी सम्मेलनको तयारीका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १४:३०
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार