बराह क्षेत्रको कुम्भ मेलामा आएका भारतीय बाबा शास्त्री को हुन्, किन गुन्द्रुक खाए?

आइतबार, वैशाख ९, २०८१

इटहरी– बागेश्वर धाम सरकारका नाममा चिनिने धीरेन्द्र कृष्ण शास्त्री यतिबेला सुनसरीको बराह क्षेत्रमा १२ बर्षपछि लाग्ने कुम्भ मेलामा सहभागी छन्। उनले कुम्भ स्नान मात्र गरेनन्, प्रवचन पनि दिएका छन्। 

कोशी नदीमा स्नान गरेपछि उनले नेपालको सौन्दर्यता नियाँल्नका लागि विश्वका हिन्दूत्व बुझेकालगायत आउनका लागि पनि भनेका थिए। दोस्रो पटक नेपाल आएका उनले प्रवचनका क्रममा गुन्द्रुक खाएको चर्चा गरेका छन्। 

यसले नेपालको धार्मिक पर्यटनको प्रचार भएको छ। किनकी शास्त्रीका फ्यान भारतलगायतका विश्वका विभिन्न देशमा रहेका छन्। युवा उमेरका शास्त्री को हुन्? कसरी उनको चर्चा चुलियो?

धीरेन्द्र कृष्ण शास्त्री ’बागेश्वर धाम सरकार’का नामले चर्चित छन्। उनी आफूसँग अलौकिक शक्ति रहेको, बिरामीहरूलाई निको पार्न सक्ने र ‘भूतप्रेत लागेका’ मानिसलाई त्यसबाट मुक्त गर्न सक्ने दाबी गर्छन्।

मानिसहरूलाई आफ्नो व्यापार–व्यवसायमा आएका सङ्कट तथा आर्थिक समस्याबाट पार लगाउन सक्ने उनी दाबी गर्छन्।

भारतको मध्यप्रदेशस्थित बागेश्वर धाम मन्दिरका २७ वर्षीय पुजारी रङ्गीचङ्गी पोसाकमा ठाँटिन्छन् र इतिहासमा महाराष्ट्रका पेशवा शासकहरूले लगाउने जस्ता टोपी लगाउँछन्।शक्तिशाली मन्त्री र राजनीतिकर्मीहरू आफ्ना अनुयायी रहेको उनी बताउँछन्। उनी टेलिभिजन र सामाजिक सञ्जालमा निकै चर्चामा छन्।

भारतका समाचार च्यानलहरूले यी धार्मिक गुरु र उनमा रहेको शक्तिका बारेमा सयौँ घण्टा खर्च गरेका छन्। धर्मान्तरण र अन्तर धर्मका मानिसहरू बीचका बिहेबारे उनका भनाइहरू “ब्रेकिङ न्यूज”का रूपमा प्रसारण भएका थिए। 

सामाजिक सञ्जालमा उनका लाखौं फलोअरहरू बढिरहेका छन्। 

एक प्रख्यात तर्कवादीले उनको बिरामी सन्चो बनाउने र मानिसको मन पढ्न सक्ने भन्ने दाबीबारे प्रश्न उठाएपछि शास्त्रीको चर्चा भारतभरि फैलिएको छ।

अन्धविश्वासविरुद्ध अभियान चलाउँदै आएका श्याम मानवले उनको अन्ध श्रद्धा निर्मूलन समितिमार्फत् उनले रोजेका १० जनाको मन पढ्न सके आफूले उनलाई ३० लाख भारतीय रुपैयाँ दिने घोषणा गरे।शास्त्रीले महाराष्ट्रको नागपुर शहरमा शिविर राखेका बेला सोही राज्यका मानवले त्यस्तो चुनौती दिएका थिए।शास्त्रीले त्यो चुनौती सामना नगरीकनै शहर छोडेपछि कैयौँले उनी भागेको भनेका थिए।
सङ्घीय मन्त्री नितिन गडकरी शास्त्रीसँग भेट गरेका कैयौँ प्रभावशाली मध्ये एक हुन्। त्यसयता उनले कैयौँ टेलिभिजनमा अन्तर्वार्ता दिँदै त्यहाँबाट भागेको अस्वीकार गरेका छन्। 

रिपोर्टहरूमा जनाइएअनुसार विवाद शुरू भएयता मानवले ज्यान मार्ने धम्की बेहोरेका थिए र प्रहरीले उनको सुरक्षा व्यवस्था कडा पारेको छ।

शास्त्रीले पनि आफूले ज्यान मार्ने धम्की पाइरहेको भन्दै प्रहरीमा उजुरी गरेका तिए। विवाद र सञ्चारमाध्यमको निरन्तरको कभरेज तथा एक मूलधारका रिपोर्टरले उनको पाउ परेर बिरामी सन्चो पार्ने र मानिसहरूको मन पढ्न सक्ने कुरालाई प्रवर्द्धन गरेपछि त्यसले झन् उनको लोकप्रियतालाई बढायो। 

बागेश्वर धाम मन्दिरले राखेको यूट्यूब भिडिओमा उनले हजारौँ मानिस सहभागी सभालाई सम्बोधन गरेको देखिन्छ। एउटा र्यालीमा उनले “चार लाख” मानिस रहेको दाबी गरेका छन्।

मञ्च र टेलिभिजन स्क्रिनमा उनी निकै हाउभावपूर्ण अभिव्यक्ति दिन्छन्। उनले आफ्ना धारणा राख्दै ताली बजाउँछन् र कुनै निजी ठट्टा गरेको जस्तो खिलखिलाएर हाँस्छन्।बोल्दाबोल्दै उनी आफ्नो सिटबाट उठ्छन् अनि बस्छन्, क्यामेरातिर औँला सोझ्याउँछन्, आफैसँग केही बोल्छन् र अनौठा स्वर निकाल्छन्।

एउटा यस्तै समारोहमा उनले “मुकेश नाम गरेका व्यक्तिलाई बोलाए जसले कमिज होइन गन्जीमात्र लगाएका थिए। जादुगर र सुहानी शाहले शास्त्रीका उपायहरूमाथि प्रश्न उठाएकी छन्।

जब यस्ता व्यक्ति मञ्चमा आउँछन् उनले कागजमा मुकेश र उनका परिवारलाई केले दुःख दिइरहेको छ भन्ने कुरा उनीहरूसँग कुराकानी नगरीकनै लेखिदिन्छन्। 

मुकेशले त्यो कागजमा लेखिएको समस्याका कुराहरू सजिलै स्वीकार गर्छन्।अर्को पटक उनले बेहोस भइरहने बच्चाकी आमाका लागि केही मन्त्र लेखिदिन्छन्। 

‘यी मन्त्रहरू हरेक दिन वाचन गर्नू। त्यसले तिम्रो छोरालाई राम्रो हुनेछ र तिम्रो आर्थिक समस्यालाई पनि टार्नेछ’, उनले ती महिलालाई भन्छन्। यस्ता कारबाहीले शास्त्रीलाई “जादु गर्ने” व्यक्तिका रूपमा चिनाउँछन्। उनका समर्थकहरू “उनको तेस्रो आँखा रहेको र उनले तपाईँको मुटु, मस्तिष्क र आत्मा पढ्न सक्ने” दाबी गर्छन्। आलोचकहरूले उनलाई टुनामुना गरेको र अन्धविश्वास फैलाएको तथा सर्वसाधारणलाई प्रभावमा पार्न तिकडम गरेको आरोप लगाउँछन्।जादुगर र मन पढ्नेहरूले आफूहरूले पनि सजिलै त्यस्तो कर्म गर्न सक्ने भन्ने प्रदर्शन गर्दै त्यो एउटा कला भएको र त्यो कुनै अलौकिक पुरस्कार नभएको बताएका छन्।

“उनले जे गरिरहेका छन् त्यसलाई मेन्टलिज्म भनिन्छ। त्यसलाई चमत्कार भन्न मिल्दैन। यो एउटा कला हो जुन सिक्न सकिन्छ। यदि कसैले त्यसलाई चमत्कार भन्छ भने उसले अन्धविश्वास फैलाइरहेको छ उसले झूट फैलाइरहेको छ” एक मेन्टलिस्ट सुहानी शाहले बताएकी थिइन्।

शास्त्रीले आफूलाई “अन्धविश्वास फैलाएको भन्ने झूटा आरोप लगाइएको” बताएका छन् । र आफूले “हरेक समस्या समाधान गर्न नसक्ने” बताएका छन्।

केही अग्रपङ्क्तिका हिन्दू धार्मिक नेताहरूले उनको कौशलमाथि प्रश्न गरेका छन्।तीमध्ये एक जनाले भनेका छन्, यदि शास्त्रीले साँच्चिकै जादु गर्न सक्ने भए उनले जोशी मठमा धस्दै गएका घरमा उत्पन्न चिराहरू मर्मत गरिदिऊन्।

शास्त्री धेरैजसो हिन्दी भाषाका समाचार च्यानलमा उपस्थित हुन्छन् । शास्त्री राजनीतिक विवादमा पनि पर्ने गरेका छन्। उनले अल्पसङ्ख्यक विरोधी विज्ञप्तिहरू दिने र भारतलाई हिन्दूराष्ट्र बनाउनुपर्ने बताउँदै आएका छन्।

उनले छुवाछूतको व्यवहार गरेको आरोप पनि गत वर्ष लागेको थियो। उनले एकजना मानिसलाई “मलाई नछोऊ‘तिमी अछूत हौ” भनेको भिडिओ भाइरल भएको थियो। तर उनलाई दक्षिणपन्थी हिन्दू नेताहरूको महत्वपूर्ण समर्थन रहेको छ जसले हिन्दूहरूलाई धर्मान्तरण गराइरहेकाहरूको विरोध गरेका कारण उनको आलोचना भएको भन्ने गरेका छन्।

“यदि कसैले धर्म परिवर्तन गरेका छन् भने‘ उनीहरूमाथि झूटो आरोप लगाइन्छ र आक्रमण गरिन्छ। बागेश्वर महाराजमाथि आक्रमण हुनुको मुख्य कारण पनि त्यही हो। त्यसैले हामी उहाँको साथ छौँ,” सत्तारूढ भारतीय जनता पार्टीका एक नेता कपिल मिश्राले ट्वीट गरेका थिए।

शास्त्रीले आफूलाई धेरैजसो “गाउँले” र “एक अनपढ मानिस” भन्छन् र मन्दिरको औपचारिक वेबसाइटका अनुसार उनी बाल्यकालदेखि नै धर्मप्रति रुचि राख्ने तथा धार्मिक कार्यक्रममा जानका लागि स्कूलका कक्षाहरू छोड्ने गर्थे।

सन् १९९६ मा गरिब ब्राह्मण परिवारमा छत्रपुर जिल्लाको गडा गाउँमा जन्मिएका उनले परिवारको गुजाराका लागि थप कमाइ गर्न विद्यालयको पढाइ बीचैमा छोडेका थिए।

उनको स्कूलका एक साथीले बताएअनुसार केही वर्षअघि शास्त्री एक वर्षका लागि हराएका थिए। उनी फर्केपछि राजनीतिकर्मी र प्रभावशाली मानिसहरू उनको मन्दिर धाउन थालेका थिए।

उनले भने, “पाँच वर्ष अगाडिसम्म शास्त्री मोटरसाइकलमा यात्रा गर्थे,अहिले उनी एक दर्जन कार अगाडिपछाडि राखेर यात्रा गर्छन्। भारत र विदेश यात्रा गर्दा कहिलेकाहीँ त निजी जेटको प्रयोग गर्छन्।

उनी यसअघि बिनोद चौधरीले निर्माण गरेको नवलपरासीको शाश्वत धाममा आएका थिए। उनलाई अहिले पनि नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको ठूलो सुरक्षा घेरा प्रदान गरिएको छ। उनी जे जस्तो विवादमा आए पनि लाखौं करोडौं फ्यानले सुन्नेगरी नेपालको भ्रमण गर्न भन्नु, स्वर्ग भन्नुले नेपाली पर्यटन प्रबद्र्धन हुने स्पष्ट छ।  
 

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १६:१८
प्रतिक्रिया दिनुहोस्