महिला मन्त्रालयले गर्‍यो ६७८ जना गर्भवतीको निःशुल्क हवाई उद्धार

आइतबार, वैशाख ९, २०८१

काठमाडौँ- नेपाल सरकारले ५ वर्षको अवधिमा ६ सय ७८ जना गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरेको छ । दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको उद्धार गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ ।

मन्त्रालय मातहतको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकप्टरमार्फत निःशुल्क उद्धार गरी उपचारको व्यवस्था मिलाएको महिला उत्थान समन्वय इकाईले जनाएको छ ।आर्थिक वर्ष २०७५–०७६ बाट यो कार्यक्रम लागू गरिएको थियो । चालु आर्थिक वर्षमा मात्रै १ सय २६ जना गर्भवती तथा सुत्केरी महिलाको उद्धार गरिएको हो। मन्त्रालयका अनुसार दुर्गम क्षेत्रका नजिकको स्वास्थ्य संस्थाले दिएको सिफारिसलाई आधारमा इकाईले उद्धार गर्दै आएको छ ।

सो कार्यक्रम हालसम्म ४८ वटा जिल्लामा लागू गरिएको छ । १९ वटा जिल्लामा पूर्ण र २६ वटा जिल्लामा आंशिक गरी ४८ वटा जिल्लाको सो कार्यक्रम लागू गरिएको छ।

सरकारले सो कार्यक्रम दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूका लागि हवाई उद्धारसम्बन्धी कार्यविधि-२०७७ अनुसार सञ्चालन गरिरहेको छ । इकाईले पीडितलाई तत्काल उद्धार गर्नका लागि ९८५१२५५२५४ को निःशुल्क हटलाइन सेवा पनि उपलब्ध गराएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १३:५७
प्रतिक्रिया दिनुहोस्