ऐरी चम्किदा नेपालको खेल बलियो, एसीसी प्रीमियम तेस्रो स्थानका लागि हङकङलाई १४० को टार्गेट

शनिबार, वैशाख ८, २०८१

काठमाडौं-अलराउन्डर दीपेन्द्र सिंह ऐरीले राम्रो अन्त्य गरेपछि नेपालले ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ मा तेस्रो स्थानको प्रतिस्पर्धामा हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

अल अमरेत क्रिकेट मैदान १ मा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १३९ रन बनायो ।

नेपालका दीपेन्द्रले २९ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४४ रन बनाए । अन्तिम ओभरमा दीपेन्द्रले अजिज खानलाई दुई चौका र दुई छक्कासहित कुल २० रन प्रहार गर्दै जितको आशा बचाएका थिए । सन्दीप जोराले २३ बलमा १ चौकासहित सर्वाधिक २२ रन बनाए ।

शुक्रबार सेमिफाइनल खेलमा युएईसँग ११९ रन बनाउँदै एसिया कप खेल्ने अवसर गुमाएको नेपालले हङकङविरुद्ध पनि राम्रो प्रदर्शन गर्न सकेन ।

लगातार तेस्रो खेलमा शून्यमा आउट हुनेक्रममा ओपनर कुशल भुर्तेल तीव्र गतिका बलर आयुश शुक्लाको पहिलो ओभरको दोस्रो गुड लेन्थको बलमा एज लागेर विकेटकिपर जिशान अलीबाट समातिए । तेस्रो नम्बरमा सरप्राइज रुपमा आएका सोमपाल कामी ७ बलमा २ चौकासहित १२ रनमा शुक्लाकै बलमा क्याच आउट हुन पुगेका थिए ।

आशिफ शेख शुक्लाको पाँचौं ओभरको पाँचौं बलमा खराब सट खेल्दै ५ रनमा निजकात खानबाट क्याच हुँदा नेपाल ३२–३ को अवस्थामा थियो । कप्तान रोहित पौडेल अतिक इकबालको आठौं ओभरको पाँचौं बलमा रोहित २१ रनमा एलबीडब्लू आउट भए । रोहितले १९ बलमा २ चौका प्रहार गरे ।

कुशल मल्ल स्पिनर यासिम मुर्तजालाई १२ औं ओभरको दोस्रो बलमा लगातार दोस्रो छक्का हान्ने धुनमा लङअनमा निजाकत खानबाट १३ रनमा क्याच आउट भएपछि बलियो योगफलको सम्भावना टाढिएको थियो ।

१४ औं ओभरको तेस्रो बलमा सन्दीप जोरा र चौथो बलमा गुलशन झा ६ रनमा लगातार रन आउट भएपछि नेपाल ८७–७ को अवस्थामा पुगेको थियो । हिटर करण केसी स्पिनर एहसान खानको बलमा ३ रनमा एलबीडब्लू आउट भए ।

हङकङका आयुश शुक्लाले ३ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । अतिक इकबाल, यासिम मुर्तजा र एहसान खानले १–१ विकेट लिए ।

प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  १८:०२
प्रतिक्रिया दिनुहोस्