अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ

सोमबार, वैशाख ३, २०८१

काठमाडौं- प्रहरीले अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जनालाई पक्राउ गरेको छ ।

दाङ, गढवा गाउँपालिका-८ कोईलावासबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ६ किलो ८ सय २० ग्रामसहित घोराही उपमहानगरपलिका-१३ डुमरगाउँ बस्ने ४१ वर्षीया सुकमाया बुढालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेकी उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

झापा, कमल गाउँपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय मिलिग्राम र नगद २५ हजार रुपैयाँसहित ४ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३२ वर्षीय हिक्मत धिमाल, २७ वर्षीय सुदिप धिमाल, सोही गाउँपालिका-६ बस्ने २५ वर्षीय न्युसन राई र सोही नगरपालिका-५ बस्ने १८ वर्षीय किशोर रहेका छन् । हिक्मतको घरमा लागूऔषध बिक्री हुने गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

सुनसरी, इटहरी उपमहानगरपालिका-१२ शान्ति चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ६० मिलिग्रामसहित भारत बिहार राज्य अररिया कर्साकट्टा घर भई हाल मोरङ बिराटनगर महानगरपालिका-१७ रानी बस्ने मोहमद ईब्रानलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले बिराटनगरबाट ईटहरीतर्फ जाँदै गरेको प्रदेश १-०२-००३ ह ९६०७ नम्बरको सिटी सफारीलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी चालक मोहमदलाई पक्राउ गरेको हो ।

पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट अवैध लागूऔषधसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा जितपुर सिमरा उपमहानगरपालिका-२ बस्ने २१ वर्षीय सुगम श्रेष्ठ र मकवानपुर हेटौंडा उपमहानगरपालिका-१४ बस्ने २८ वर्षीय दिनेश नेगी रहेका छन् । प्रहरी चौकी इनरुवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका सुगमलाई नियन्त्रित लागूऔषध फेनारगन ५ एम्पुल, डाइजेपाम ५ एम्पुल र नुर्फिन ५ एम्पुल तथा दिनेशलाई अवैध लागूऔषध खैरौ हेरोइन जस्तो देखिने पदार्थ करिब १ सय ९० मिलिग्रामसहित पक्राउ गरेको हो ।

कैलाली, भजनी नगरपालिका-३ जस बहादुर घाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय मिलिग्रामसहित २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका-३ अमैरी बस्ने २२ वर्षीय प्रदिप चौधरी र १९ वर्षीया अस्मिता शाही रहेका छन् । प्रहरी चौकी जनकपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १५:२४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार