सिँचाइका लागि कोठीखोलामा तटबन्ध निर्माण

शुक्रबार, चैत ३०, २०८०

बरहथवा (सर्लाही) - सर्लाहीको हरिवन नगरपालिकास्थित चुरे क्षेत्रका किसानलाई सिँचाइ सुविधा पुर्याउने उद्देश्यसहित ‘रन अफ हार्वेष्टिङ ड्याम’ (तटबन्ध) निर्माण सुरु भएको छ ।

हरिवन नगरपालिका–१ भएर बग्ने कोठीखोलामा तटबन्ध निर्माण सुरु गरिएको हो । चुरेका किसानको खेतखेतमा पानी पुर्याउने लक्ष्यसहित तटबन्ध निर्माण सुरु गरेको कोठीखोला चुरे संरक्षण उपभोक्ता समितिका अध्यक्ष रामबहादुर बम्जनले जानकारी दिए । तटबन्ध निर्माणपश्चात् यस क्षेत्रको छ सय बिघा बढी खेतमा सिँचाइ सुविधा पुग्ने उनले बताए ।

तटबन्ध बनेपछि हरिवन नगरपालिका–१ अन्तर्गत कोठीखोलामा सुक्खा क्षेत्रमा बाह्रैमास पानी पुग्नेछ । राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन एकाइअन्तर्गतको बजेटबाट तटबन्ध निर्माण थालिएको हो ।

तटबन्ध निर्माणका लागि उपभोक्ता समितिको रु तीन लाख ९३ हजार ६१७ श्रमदान र कार्यालयको रु ३४ लाख ५६ हजार गरी कुल रु ३८ लाख ४९ हजार ६१७ खर्च हुने अनुमान छ ।

खोलामा ४५ मिटर लामो आरसिसी हार्वेष्टिङ ड्याम र ३० मिटर लामो अर्देन ड्यामको संरचना निर्माण गरिने उपभोक्ता समिति अध्यक्ष बम्जनले जानकारी दिए । योजना सम्झौताअनुसार कोठीखोला चुरे संरक्षण उपभोक्ता समितिले २०८१ असार ६ गतेभित्र काम सम्पन्न गर्नुपर्नेछ ।

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  १०:०३
प्रतिक्रिया दिनुहोस्