बढ्दै वनमा डढेलो : निभाउने प्रविधि र जनशक्ति अभाव

बिहीबार, चैत २९, २०८०

दाङ- घोराही उपमहानगरपालिका-५ धर्नाको धारापानीमा रहेको पान्डवेश्वर सामुदायिक वनमा यही चैत २५ गते आगलागी भयो । आगलागी भएको देखेपछि धारापानी मन्दिर व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यले वनमा डढेलो लागेकाले नियन्त्रणका लागि सबै जनालाई सहयोगको आह्वान गरे ।

पहिलो दिनमा गाउँघरका नागरिकलाई साथैमा लिएर जाँदा पनि आगो निभाउन सम्भव भएन । राति भइसकेकाले उनीसहित गाउँले घर फर्किए । भोलिपल्ट बिहान रणसिंह दल गणका नेपाली सेना, धारापानीमा रहेको चौकीका नेपाल प्रहरी, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी तथा स्थानीय आगो नियन्त्रणमा आएका सचिव आचार्यले बताए । उनका अनुसार दश वर्षदेखि जोगाउँदै आएको वनमा एक्कासि आगलागी हुँदा धेरै बोटबिरुवा जलेर नष्ट भएका छन् ।

गर्मी मौसमको सुरुआतसँगै दाङमा आगलागीका घटना बढ्दै गएका छन् । वन डढेलोका कारण बर्सेनि ठूलो मात्रामा बोटबिरुवा तथा वनस्पतिको क्षति हुने गरेको छ । रोकथामका लागि चाहिने पूर्वाधार निकै कमजोर छ ।

डढेलो नियन्त्रण गर्न अपनाउनुपर्ने विधि प्रक्रिया सबै अपनाए पनि बर्सेनि बढ्दै गएको भन्दै यसले जोखिम थपिँदै गएको जिल्लास्थित डिभिजन वन कार्यालयका प्रमुख मोहन श्रेष्ठ बताए । ‘वन डढेलो नियन्त्रणमा चुनौती थपिँदै गएको छ । रोकथामका प्रयास भइरहे पनि बारम्बार मानवीय कारणबाट रोकथाममा चुनौती भएको छ,’ उनले भने ।

श्रेष्ठका अनुसार डिभिजन कार्यालयअन्तर्गत आठवटा सबडिभिजन छन् । जिल्लामा ८४ हजार हेक्टर वनक्षेत्र रहेको भन्दै सामुदायिक वन समूहको सङ्ख्या तीन सय ८५ वटा रहेका उनले जानकारी दिए ।

‘समुदायस्तरमा सचेतना बढाउने कार्यक्रम बर्सेनि हुने गरेका छन् । सामुदायिक वन व्यवस्थापन कार्ययोजनाअनुसार काम भइरहेकाले जोखिम कम गर्न सहयोग पुगोस् भन्ने हाम्रो अपेक्षा हो । सोअनुसार काम हुनसकेको भने छैन,’ श्रेष्ठले भने । दाङमा वन डढेलो नियन्त्रणका लागि तालिमप्राप्त जनशक्ति तथा प्रविधिको अभाव रहेको उनको भनाइ छ ।

‘वनमा आगो लाग्यो भने निभाउन जाँदा ज्यान जाने खतरा छ । दमकल, ट्याङ्कर, जनशक्ति केही छैन । अहिले हामीसँग छ जना सशस्त्र वन रक्षक छन् । वन डढेलो नियन्त्रण दस्ताबाट काम भइरहेको छ । उपलब्ध स्रोतसाधनबाट कोसिस जारी छ, यो पर्याप्त भने होइन,’ डिभिजन वन कार्यालयका प्रमुख श्रेष्ठले भने ।

डिभिजन वन कार्यालयका अनुसार अहिले जिल्लामा डेढ सय हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ । नियन्त्रण लिने काम हुँदै आए पनि सुक्खा मौसम र दमकल पुग्ने बाटाको समस्या रहेकाले जोखिम थपिएको श्रेष्ठले बताउनुभयो । गत वर्ष जिल्लामा दुई हजार दुई सय हेक्टर क्षेत्रफलमा डढेलो लागेको थियो ।

प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले विपद्जन्य घटना न्यूनीकरणका लागि जिल्लामा गठित सबै संयन्त्र जिम्मेवार रूपमा क्रियाशील हुनुपर्ने बताए । विपद्जन्य घटनाबाट नोक्सान कम गर्नका लागि पूर्वतयारी गर्नुपर्ने उनले बताए ।

अहिलेको सुक्खा समयमा वन डढेलोको जोखिम बढ्ने भएकाले स्थानीयस्तरमा गठित संयन्त्र तथा सञ्जालले आफ्नो भूमिका बढाउँदै सचेतना प्रदान गर्न लाग्नुपर्नेमा उनले जोड दिए । दाङमा १२ वटा वन डढेलो नियन्त्रण सञ्जाललाई अग्नि नियन्त्रण सामग्री हस्तान्तरण गरिएको प्रजिअ सुवेदीले जानकारी दिए ।

जिल्लास्थित डिभिजन वन कार्यालयअन्तर्गत आठवटा सबडिभिजन मातहत रहेका सञ्जालमध्ये १२ वटा सञ्जाललाई डढेलो नियन्त्रणका लागि जमसुट, ग्लोभ्स, हेलमेट, जेट सुटर विथ वाटर ब्याग, रेक, रेक हो, स्वाटर गरी छ किसिमका अग्नि नियन्त्रक सामग्री हस्तान्तरण गरिएको वन प्रमुख श्रेष्ठले बताए ।

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  १६:२९
प्रतिक्रिया दिनुहोस्