राष्ट्रिय हित संरक्षणमा नेपाली सेनाको योगदान महत्वपूर्ण : प्रधानमन्त्री

बुधबार, चैत २८, २०८०

भक्तपुर- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि सङ्कटको बेलामा राष्ट्रिय स्वार्थ र राष्ट्रिय हितहरूको संरक्षणमा नेपाली सेनाले महत्वपूर्ण योगदान पुर्‍याएको बताएका छन् ।

आज नेपाल सैनिक प्रतिष्ठान खरिपाटीमा आयोजित स्नातक अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कार्यक्रममा उनले देशभित्र विपद् व्यवस्थापन, पर्यावरण संरक्षण, विकास निर्माणका कामदेखि सङ्कटका बेलामा राष्ट्रिय स्वार्थ र हितको संरक्षणमा नेपाली सेनाले महत्वपूर्ण योगदान पुर्‍याएको बताए।

विश्वमाझ शान्ति सैनिकको देशका रूपमा नेपाललाई परिचित गराउन नेपाली सेनाले ठूलो योगदान रहेको चर्चा गर्दै उनले भने, “विशिष्ट साङ्गठनिक क्षमताका आधारमा नेपाली शान्ति सैनिकले विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्तिदूतका रूपमा खटिएर विश्वशान्ति स्थापनार्थ महत्वपूर्ण योगदान गरेका छन् ।”

विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा नेपाली सेनाले शान्तिदूतका रूपमा खटिएर विश्वशान्ति स्थापनार्थ पु¥याएको योगदानले नेपाललाई ‘शान्ति सैनिकको देश’ को रूपमा विश्वसामु परिचित गराएको उनले बताए । प्रधानमन्त्री प्रचण्डले भने, “सन् २०२२ नोभेम्बर ३० बाट शान्ति सैनिक खटाउने राष्ट्रको सूचीमा नेपालले पहिलो स्थान हासिल गर्न सफल हुनुलाई शान्ति स्थापना कार्यमा थप महत्वपूर्ण कोशेढुङ्गाको रूपमा लिएका छौँ ।”

आफ्नो जिम्मेवारीलाई उत्कृष्ट र व्यावसायिक ढङ्गबाट पूरा गर्न सफल हुँदै बहुआयामिक, सबल तथा सक्षम सङ्गठनको रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत स्थापित नेपाली सेनाको योगदानलाई सदैव स्मरण गर्नुपर्ने उनले बताए ।

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १७:२६
प्रतिक्रिया दिनुहोस्