अर्थतन्त्रमा समस्या रहेको स्वीकार गरेर निकास खोजौँ : अध्यक्ष ढकाल

बुधबार, चैत २८, २०८०

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्र अझै समस्यामुक्त नभएकाले समस्यालाई स्वीकार गरेर नै समाधान खोज्नुपर्ने बताएका छन् ।

महासङ्घको ५८औँ वार्षिक साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै मुलुकको अर्थतन्त्र यसअघिको नियन्त्रणमुखी नीति तथा कार्यक्रमका कारण समयानुकुल विकास हुन नसकी समस्यामा पर्दै गएको बताए ।

पहिला देशको अर्थतन्त्रमा अझै समस्या छ भन्ने स्वीकार गरेपछि मात्र यसको समाधानको खोजी सहज हुने उनको भनाइ थियो । उनले भने, “अहिले आम्दानी र खर्चबीच तालमेल मिलेको छैन । मुलुकको खर्च धान्ने निजी क्षेत्र पखेटा फिँजाएर थप आर्जन गर्न खोजिरहेको छ, तर राज्यका तर्फबाट त्यसका लागि आवश्यक सेवा र सुरक्षा पाउन सकेको छैन । यो क्षेत्रले अहिले सरकारबाट प्रोत्साहन चाहेको छ । अहिलेको अवस्थामा निजी क्षेत्रलाई काम गर्ने वातावरण र अर्थतन्त्र सुधारका लागि राज्यका प्रभावकारी नीति आवश्यक छ ।”

केही समयअघि नेपाल पनि श्रीलङ्काको जस्तो अर्थतन्त्रमा पुग्छ भन्ने त्रासले निकै नै नियन्त्रणमुखी कार्यक्रमहरु नेपाल सरकार तथा केन्द्रीय बैंकले अवलम्बन गरेका कारण अर्थतन्त्र यसरी सङ्कुचन हुन पुगेको र अर्थतन्त्र सुधारका लागि दिगो कार्यक्रम अवलम्बन गर्न नसकिएको उनको भनाइ थियो ।

करिब दुई वर्षदेखि सुस्ताएको अर्थतन्त्रको रोग पहिचान गरेर त्यसको निदानका लागि मुलुकका सबै निजीक्षेत्रका तर्फबाट साझा सुझाव दिएको र ती सुझावहरु राज्यका सम्बद्ध निकायले लागू नगर्दा समस्या झन् बल्झिँदै गएको उनले बताए।

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १४:३४
प्रतिक्रिया दिनुहोस्