काँग्रेसले रविबारे राखेको अडान सत्ता पक्षमा भ्वाङ पार्ने उद्देश्य : सूर्य थापा

बुधबार, चैत २८, २०८०

काठमाडौँ- नेकपा एमालेका सांसद सूर्य थापाले सहकारीको रकम अपचलनको विषयमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले राखेको माग सत्ता गठबन्धनमा भ्वाङ पार्ने उद्देश्यले भएको टिप्पणी गरेका छन् ।

सूर्यदर्शन सहकारी संस्थाको रकम अपचलनको विषय अदालतमा विचाराधीन रहेको भन्दै थापाले अदालतमा विचाराधीन विषय संसदमा बहस गर्न नहुने पनि बताए ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै थापाले भने, ‘सत्ता गठबन्धनमा भ्वाङ पार्ने अरण्य रोदन हो । यसले देशलाई केही फाइदा हुँदैन ।’

सहकारी पीडितहरूलाई न्याय र दोषीलाई दण्डित हुनुपर्ने भन्दै उनले यसलाई सत्ता पक्ष र प्रतिपक्षको सौदाबाजीको विषय नबनाउन आग्रह गरे ।

व्यक्ति केन्द्रित नभई विषय केन्द्रित विषयमा संसदमा छलफल हुनुपर्ने उनले बताए ।

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १३:१६
प्रतिक्रिया दिनुहोस्