मधेस सरकारले दियो थप ८ दिन सार्वजनिक बिदा

मंगलबार, चैत २७, २०८०

काठमाडौँ- मधेस सरकारले संघ सरकारले दिएको बिदाबाहेक थप ८ दिन प्रदेशमा सार्वजनिक बिदा दिएको छ ।

संघ सरकारले वर्ष २०८१ को वैशाखदेखि चैतसम्मको विभिन्न चाडपर्व, दिवस, जन्मजयन्तिको अवसरमा निर्धारण गरेको बिदा सार्वजनिक गरेपछि त्यसमा थप ८ दिन बिदा दिने गरी मधेस सरकारले राजपत्रमा प्रकाशित गरेको छ। संघ सरकारले गत माघ २९ गते २०८१ सालका लागि सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायको लागि निर्धारण गरेको बिदाका अतिरिक्त मधेसमा थप आठ दिन बिदा दिन चैत ११ गते मधेस सरकारबाट निर्णय गरेर प्रदेशको राजपत्रमा प्रकाशित गरिएको हो।

जसअनुसार मधेस सरकारले २०८१ साल वैशाख २ गते सिरुवा पावनी, जेठ ४ गते शुक्रबार जानकी नवमी, पैगम्बर मोहम्मदको जन्मदिनमा पछि यकिन हुने गरी बिदा दिएको छ।

यस्तै, छठ पर्वको भोलिपल्ट कार्तिक २३ गते शुक्रबार, सीताराम विवाह पञ्चमीको दिन मंसिर २१ गते शुक्रबार, बलिदानी दिवसको दिन माघ ५ गते शनिबार, तराईमा मनाइने होलीको भोलिपल्ट चैत २ गते शनिबार र रामनवमीको अवसरमा चैत २४ गते थप बिदा दिने निर्णय भएको गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव वीरेन्द्रकुमार यादवद्वारा प्रकाशित राजपत्रमा उल्लेख गरिएको छ।

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १२:१८
प्रतिक्रिया दिनुहोस्