जलवायु परिवर्तनबाट उत्पन्न समस्या सम्बोधन गर्न सीप र दक्षता अभिबृद्धि जरुरी : मन्त्री श्रेष्ठ

सोमबार, चैत २६, २०८०

हेटौंडा- बागमती प्रदेश सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले मानिसबाट भइरहेको पृथ्वीको विनाशबाट बचाउनका लागि आवश्यक काम गर्नु सबैको दायित्व भएको बताएका छन् ।

सोमबार हेटौंडामा आयोजित ‘विश्वव्यापी रूपमा अभिप्रेरित, स्थानीय रुपमा सशक्तीकृत : जलवायु सम्बन्धी गतिविधिमा जुनियर तथा युवा’ भन्ने मूल नाराका साथ आयोजना गरिएको पाँचौ प्रदेश स्तरीय जुनियरर युवा रेडक्रस शिविर कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। उनले पर्यावरण विनाश, जलवायु परिवर्तन र पृथ्वीको तापक्रममा निरन्तरको वृद्धिले मानव जातिको अस्तित्व नै संकटमा पर्दै गइरहेको बताए ।

मन्त्री श्रेष्ठले हिमालमा हिउँ पग्लने, समुन्द्री सतहको वृद्धि, अत्याधिक कार्वन उत्सर्जन र वायुमण्डलमा बढिरहेको प्रदुषणले पृथ्वीको अस्तित्व पनि संकटमा पर्दै गइरहेको बताए । उनले मानिसद्वारा भइरहेको पृथ्वीको विनाशबाट बचाउनका लागि आवश्यक काम गर्नु सबैको दायित्व भएको बताए। उनले युवाहरु राष्ट्रका आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक र शैक्षिक क्षेत्रका अग्रदूत तथा परिवर्तनका बाहक भएको भन्दै उनीहरूले मानवीय सेवा कार्यलाई प्रभावकारी बनाउनु पर्ने बताए । युवाहरुले समुदायको दुःख र पीडामा सहयोगी भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए ।

मन्त्री श्रेष्ठले युवाहरूको सीप र दक्षता अभिबृद्धि गराएर मात्रै जलवायु परिवर्तनबाट उत्पन्न समस्यालाई सम्बोधन गर्न सम्भव हुने बताए ।

मन्त्री श्रेष्ठले बागमती प्रदेश सरकार नेपाल रेडक्रस सोसाइटीसँग सहकार्य गर्दै अघि बढिरहेको बताए । उनले हाल सरकारी अस्पतालमा मात्रै रगत उपलब्धता गरिँदै आएकोमा आगामी दिनमा सम्पूर्ण रूपमा निस्शुल्क रगत उपलब्धता गर्न पहल गरिने पनि बताए ।

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १७:२०
प्रतिक्रिया दिनुहोस्