कांग्रेसको माग सम्बोधन गर्न सभामुखले डाके प्रमसहित चार दलका शीर्ष नेताको बैठक

सोमबार, चैत २६, २०८०

काठमाडौं - सभामुख देवराज घिमिरेले प्रमुख चार दलका शीर्ष नेताहरुलाई छलफल गर्न बोलाएका छन् । सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका सन्दर्भमा नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको मागसहित सदन चल्न नदिने अल्टिमेटम दिएकाले सभामुखले दलका शीर्ष नेतासँग छलफल गर्न लागेका हुन् ।

सभामुखले आज बिहान साढे १० बजे सभामुखको कार्यकक्ष सिंहदरबारमा शीर्ष नेतालाई छलफलका लागि बोलाएका छन् । सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापति रवि लामिछानेलाई छलफलका लागि बोलाइएको छ ।

गत २१ गतेको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्को बैठकमा छानबिन समिति गठन नभए संसद् ठप्प पार्ने अल्टिमेटम दिएको थियो । प्रतिनिधिसभाको अर्को बैठक भालि मंगलबार बोलाइएको छ । तर, सत्तारुढ दलले कांग्रेसको मागअनुसार समिति गठन नहुने बताउँदै आएका छन् ।


 

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  ०८:०६
प्रतिक्रिया दिनुहोस्