दम्पत्ति हत्याको अनुसन्धान गर्न कुकुरसहितको विशेषज्ञ टोली घटनास्थल

मंगलबार, चैत २०, २०८०

पर्वत - पर्वतको जलजला गाउँपालिका–२ मल्लाजमा वृद्ध दम्पति मृत भेटिएको घटनाको अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालय पोखराबाट तालिम प्राप्त कुकुरसहितको विशेषज्ञ टोली घटनास्थल आइपुगेको छ । 
    
    स्थानीय ६९ वर्षीय सूर्यबहादुर जिसी र अन्दाजी ६७ वर्षीया श्रीमती कमला जिसी आज घरमै मृत अवस्थामा भेटिएका थिए । उनीहरुको हत्या भएको प्रारम्भिक अनुमानपछि प्रदेशवाट विज्ञ टोली बोलाइएको पर्वतका प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले जानकारी दिनुभयो । जिसि दम्पतिको सोमबार राति अपरिचित व्यक्तिले हत्या गरेको हुनसक्ने प्रहरीको भनाइ छ । 

    “गण्डकी प्रदेश प्रहरी कार्यालयबाट डाक्टर र कुुकुरसहितको विज्ञ टोली घटनास्थल आइपुगेको हो”, प्रहरी नायब उपरीक्षक भुसालले भन्नुभयो, “घटनास्थल प्रहरीको नियन्त्रणमा छ ।” घटना रहस्यमय देखिएकाल अनुसन्धान गर्न विशेषज्ञको टोली बोलाइएको उहाँले बताउनुभयो । 

    मृतक जिसी दम्पतिका दुई छोरा वैदेशिक रोजगारीको क्रममा कोरियामा छन् । एक छोरा म्याग्दीको बेनीबजारमा बस्दै आउनुभएको छ । बेनीबजार पसल गरेर बस्ने जेठो छोरा रवीन जिसीले घरमा बुबा आमालाई फोन गर्दा नउठेपछि छिमेकीलाई बुझ्न लगाउनुभएको थियो । छिमेकीले घरको ढोकामा चाँबी लगाएको सुनाएपछि छोरा रबिन बेनीबाट गाउँ पुगेर घरको ढोका खोल्दा बुबा आमा मृत अवस्थामा भेटिएका थिए ।

    जलजला गाउँपालिका–२ का वडाध्यक्ष प्रकाश जिसीले घरमा जिसी दम्पति मात्र बस्ने गरेको बताउनुभयो । “सोमबार बेलुका ८ः३० बजेको समयमा सूर्यबहादुरले मलाई फोन गरेर घर नजिकको पाखोमा डढेलो लागेको जानकारी दिनुभएको थियो”, उहाँले भन्नुभयो, “ पाखोमा लागेको डढेलो निभाउँदै हुनुहुँदो रहेछ, मैले डढेलो निभाउन अरु मानिस चाहिन्छ ? भनेर सोध्दा, पर्दैन निभ्न लागेको छ भन्नुभएको थियो ।”
    
    हरेक दिन बिहान आमासँग कुराकानी हुने भए पनि आज बिहान आमाको फोन नआएपछि आफूले फोन गर्दा नउठेको जेठा छोरा रवीन जिसीले बताउनुभयो । फोन नउठेपछि म्याग्दीमै बस्ने माइली बुहारीसहित रवीन घर पुग्दा आमाबुवा दुवैजना विभत्स अवस्थामा मृत भेटिएका थिए । 

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  २०:४२
प्रतिक्रिया दिनुहोस्