बागलुङमा तीन वर्षमा ५५ दुर्घटना, ४० जनाको मृत्यु

मंगलबार, चैत २०, २०८०

ढोरपाटन (बागलुङ)- बागलुङमा हरेक वर्ष दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो तीन वर्षमा सबैभन्दा बढी मृत्यु हुने सङ्ख्या यस वर्षको छ । यस वर्ष १६ जनाले ज्यान गुमाएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार चालु आवको साउनदेखि हालसम्म १२ दुर्घटना भएका छन् । त्यसमा ४८ जना घाइते भएका छन् । आव २०७८/७९ मा २३ सवारी साधन दुर्घटना भएका थिए । उक्त दुर्घटनामा ११ जनाको ज्यान गएको थियो भने २९ जना घाइते भएका थिए ।

गत आव २०७९/८० मा २० दुर्घटना भएका थिए । दुर्घटनामा १३ जनाको मृत्यु भएको थियो भने ३३ जना घाइते भएका थिए । तीन वर्षको तथ्याङ्क हेर्दा हरेक वर्ष दुर्घटना झिनो सङ्ख्यामा घटे पनि मृत्यु र घाइते हुनेको सङ्ख्या भने बढिरहेको छ । पछिल्लो तीन वर्षमा बागलुङमा दुर्घटनामा परी ४० जनाले ज्यान गुमाएका छन्भने एक सय १० जना घाइते बनेका छन् ।

यस अवधिमा ५५ दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख सुमन निउरेले जानकारी दिए । उनका अनुसार दुर्घटनामा ४९ सवारी साधनमा क्षति पुगेको छ । ट्राफिकले अटेरी गर्ने तथा ट्राफिक नियमको उल्लङ्घन गर्ने ३८ हजार छ सय १६ सवारी साधनलाई कारबाही गरी दुई करोड ६९ लाख तीन हजार राजस्व सङ्कलन गरेको छ ।

बर्सेनि दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएको ट्राफिक प्रमुख निउरेको भनाइ छ । उनले चालकको लापरबाही र अप्ठ्यारा सडकका कारण दुर्घटना हुने गरेको बताए । दैनिक ग्रामीण सडकमा सयौँ सवारी साधन गुड्ने तर ती सडक व्यवस्थित नहुँदा बढी दुर्घटना हुने गरेको उनी बताउँछन् । तीन वर्षको तुलनामा यस वर्ष थोरै दुर्घटना भए पनि मृत्यु र घाइते हुनेको सङ्ख्या बढी रहेको निउरेको भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १५:१३
प्रतिक्रिया दिनुहोस्