साइकलको प्रयोगले वातावरण प्रदूषणरहित हुन्छ : मुख्यमन्त्री जम्कट्टेल

शनिबार, चैत १०, २०८०

चितवन-  बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले साइकलको प्रयोगले वातावरणको प्रदूषण रोक्ने भएकाले स्वास्थ्य जीवनशैली र प्रदूषणरहित वातावरणका लागि यसको प्रयोग महत्त्वपूर्ण रहने बताएका छन् । 

प्रज्ञा स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘प्रज्ञा स्मृति साइक्लिङ प्रतियोगिता’को उद्घाटन गर्दै उनले साइकलको प्रयोग गर्दा हुने फाइदाका बारेमा जानकारी गराउन आवश्यक रहेको बताए ।

‘साइक्लिङ प्रदूषणरहित यात्रा हो । यसले स्वच्छ वातावरण निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्छ’, मुख्यमन्त्री जम्कट्टेलले भने ।  गाडीको विकल्पका रूपमा साइकलको प्रयोग गर्न सके मानव स्वास्थ्यलाई फाइदा हुने उनको भनाइ छ ।

मन्त्री जम्कट्टेलले सहिदका सपना पूरा गर्नका लागि अविचलित भएर लाग्नुपर्ने बताए । उनले भने,’ विभिन्न समयमा आन्दोलनमा लागेर सहिद भएकाको सपना भनेको समाजलाई व्यवस्थित बनाउने, सुशासन कायम गराउने, जनआधारित शासन प्रणाली सञ्चालन गर्ने हो । त्यसलाई पूरा गर्नका लागि अविचलित भएर हामी लाग्नुपर्छ ।’

कार्यक्रमका संयोजक सन्तु दराईले नेपालीको स्वास्थ्य अवस्था राम्रो राख्नका लागि साइकलको प्रयोग बढाउनु पर्ने सन्देश दिने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।

प्रतिष्ठानका अध्यक्ष रेनु दाहालको अध्यक्षतामा प्रतियोगिता सुरु गरिएको थियो । प्रतियोगितामा देशभरका ८५ जना राइडरको सहभागिता छ । उनीहरूले चार दशमलव पाँच किलोमिटर दूरी साइक्लिङ गर्नेछन् । छ वटा विधामा हुने प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रू ५० हजार, ४० हजार र ३० हजार नगद पुरस्कार प्रदान गरिने छ । इलिट मेन, वमेन, मास्टर मेन, जुनियर मेन, स्पेसल चितवन मेन र वमेन विधामा प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  १४:३२
प्रतिक्रिया दिनुहोस्