अमेरिकाको नजर आगामी सातासम्ममा इजराइल–हमास युद्धविरामतिर

मंगलबार, फागुन १५, २०८०

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजराइल र हमासबीच नयाँ युद्धविराम सोमबारदेखि सुरु हुनसक्ने बताएका छन । उक्त सम्झौतामा कयौँ सय प्यालेस्टिनी बन्दीको बदलामा गाजामा राखिएका दर्जनौँ बन्धकहरूलाई मुक्त गर्न सकिने छ ।

युद्धविराम गराउने लामो प्रयासमा इजिप्ट, कतार, अमेरिका, फ्रान्स र अन्यले इजराइल र हमासबीच मध्यस्थका रूपमा काम गरिरहेका छन् र वार्ता जारी छ । उनीहरूले छ साताका लागि युद्ध रोक्न र गाजामा हमासले अक्टोबर ७ मा दक्षिणी इजराइलमा गरेको आक्रमणले युद्ध सुरु भएपछि बन्दी बनाइएका इजराइली बन्दीहरूको रिहाइको माग गरिरहेका छन् ।

सञ्चारमाध्यमका अनुसार उक्त सम्झौतामा इजराइलले हिरासतमा लिएका कयौँ सय प्यालेस्टिनी बन्दीहरूको रिहाइ पनि सामेल हुन सक्नेछ । सोमबार सम्झौता कहिले सुरु हुन सक्छ भनी सोधिएको प्रश्नमा बाइडेनले भने, “अर्को सोमबारसम्ममा युद्धविराम हुनेछ भन्ने मलाई आशा छ, हामी यसको नजिक छौँ, हामीले अहिलेसम्म काम पूरा गरेका छैनौँ ।” एक अज्ञात इजराइली अधिकारीले समाचार साइट येनेटलाई ‘दिशा सकारात्मक’ रहेको बताएका छन् । फ्रान्सेली राष्ट्रपतिका अनुसार कतारका अमिर शेख तमिम बिन हमद अल–थानी मङ्गलबार पेरिस आउँदै छन।

कतारले हमासका नेताहरूलाई आतिथ्यता प्रदान गर्दछ र उसले नोभेम्बरमा एक साताको युद्धविराममा सहयोग गरेको थियो । कतारका शासकले साँझ ४ बजे (१५०० जिएमटी) एलिसी प्यालेसमा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनसँग भेट्ने कार्यक्रम रहेको र त्यसपछि राजकीय रात्रिभोज हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।

आधिकारिक कतार समाचार एजेन्सीका अनुसार शेख तमिमले पहिला दोहामा हमास प्रमुख इस्माइल हानियेहसँग भेट गरे र ‘तत्काल र स्थायी युद्धविराम सम्झौतामा पुग्ने उद्देश्यले’ प्रयासहरूबारे छलफल गरेका थिए । कुनै पनि युद्धविराम सम्झौताले गाजापट्टीको सुदूर दक्षिणमा रफाहमा स्थल आक्रमणमा ढिलाइ गर्ने इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले बताए । यसलाई उनले हमासमाथि ‘पूर्ण जित’ हासिल गर्नका लागि आवश्यक रहेको बताएका थिए ।

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १६:०२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार