इजरायललाई हतियार आपूर्ति बन्द गर्न आह्वान

मंगलबार, फागुन १, २०८०

युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोरेलले इजरायलका सहयोगीहरू, विशेष गरी संयुक्त राज्य अमेरिकालाई गाजामा “थुप्रै मानिसहरू” मारिएकाले हतियार आपूर्ति बन्द गर्न आह्वान गरेका छन् ।

अल जजीराले उल्लेख गरे अनुसार इजरायलको सैन्य कारबाही बारे अमेरिकी राष्ट्रपति जो बाइडेनको गत हप्ताको भनाइलाई उद्धृत गर्दै बोरेलले सोमबार भने- “ठीक छ, यदि तपाईं धेरै मानिसहरू मारिएको विश्वास गर्नुहुन्छ भने, हुनसक्छ तपाईंले यसलाई रोक्नको लागि कम हतियार उपलब्ध गराउन सक्नुहुन्छ। किनकि यहाँ धेरै मानिस मारिए।”

“के [यो] तार्किक छैन?” उनले प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसंघको राहत र कार्य निकाय का प्रमुख फिलिप लाजारिनीसँग ब्रसेल्सको पत्रकार सम्मेलनमा प्रश्न गर्दे टिप्पणी गरेका छन् ।

अल जजीराका अनुसार बोरेलले भने- “यदि अन्तरराष्ट्रिय समुदायले यो हत्या हो भन्ने विश्वास गर्छ भने, हामीले हतियारको प्रावधानको बारेमा सोच्नुपर्छ।”

यसै बीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूका निर्देशनहरूको इयु कूटनीतिज्ञहरूले आलोचना गरिरहेका छन् । गाजा शहर रफाहमा शरण खोज्ने १० लाख प्यालेस्टाइनीहरूलाई त्यहाँ योजनाबद्ध इजरायली सैन्य कारबाही अघि बढाइएको छ । इयु विदेश नीति प्रमुखले दक्षिणी गाजा शहर रफाहमा भएको आक्रमणप्रति गहिरो चिन्ता व्यक्त गर्नु भएको छ। फेब्रुअरी ११ को त्यहाँको आक्रमणले “एक अकल्पनीय मानवीय प्रकोप निम्त्याउने” र छिमेकी इजिप्टसँग गम्भीर तनाव निम्त्याउने उनको धारणा छ ।

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  १३:३१
प्रतिक्रिया दिनुहोस्