चुरोटको ठुटोबाट आगो सल्किँदा घर जलेर नष्ट

मंगलबार, माघ २३, २०८०

सोलुखुम्बु– सोताङ गाउँपालिका–५ शिवटार बजारमा चुरोटको ठुटोबाट सल्किएको आगोले एउटा घर जलेर नष्ट भएको छ ।

सोमबार बेलुकी नचिनेको मानिसले फालेको चुरोटको ठुटोबाट सल्किएको आगोले खड्गबहादुर राईको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चुरोटको ठुटो भुइँमा पोखिएको पेट्रोलमा पर्दा आगलागी भएको हो । ढुङ्गा माटोले बनेको र टिनको छानो भएको दुई तले घर जलेर नष्ट हुँदा तीन लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीको भनाइ छ ।

यसैबीच, आगलागी भएपछि हाम फालेर भाग्ने क्रममा त्यही घरमा कोठा भाडामा लिएर बस्दै आएका ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–३ का काजीमान कटवाल घाइते भएका छन् ।

घाइते कटवालको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  २१:०५
प्रतिक्रिया दिनुहोस्