पूर्वराजदूत केशवराज झा हत्या प्रकरण

प्रहरीले फेरि शुन्यबाट अनुसन्धान गर्दैछ ५ बर्षअघि काठमाडौंमा भएको हाइप्रोफाइल हत्याकाण्ड

बुधबार, माघ ३, २०८०

काठमाडौं– ५ बर्षअघि काठमाडौंमा भएको एउटा हाइप्रोफाइल हत्याकाण्डको अनुसन्धान फेरि शुन्यबाट सुरु गर्दैछ, नेपाल प्रहरी।

काठमाडौं जिल्ला प्रहरी परिसर, उपत्यका अपराध अनुसन्धान महाशाखाले पूर्वराजदूत केशवराज झाको हत्या प्रकरणको फाइल पल्टाउनुपर्ने भएको छ। 

यस हत्या प्रकरणमा दोषी देखाइएका काभ्रे पनौतीका सानु कान्छा तामाङ दुई तहको अदालतबाट निर्दोष साबित भई जेलमुक्त भएपछि प्रहरीले नयाँ शिराबाट अनुसन्धान गर्नुपर्ने भएको हो ।

तामाङ २० महिना जेल बसेर निस्किसकेका छन् ।
 

को हुन् पूर्वराजदूत

फ्रान्सका लागि पूर्व नेपाली राजदूत केशवराज झा २०७५ साल भदौ ४ गते बिहान राजधानीको बबरमहलस्थित आफ्नै निवासमा मृत भेटिएका थिए। ३ भदौ साँझ खाना खाएर सुतेका उनलाई धारिलो हतियार प्रयोग गरी हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो। 

८० बर्षको उमेरमा उनको हत्या भएको थियो। हत्याको कारण भने प्रहरीले सोही बेला पनि यकिनका साथ खुलाउन सकेको थिएन।

काठमाडौंको नरदेवीमा सगोल परिवारमा बस्दै आएका झा पछि बबरमहल सरेका थिए। बबरमहलस्थित निवासमा उनीसँग श्रीमती ज्ञानु झा र सहयोगी सानु कान्छ तामाङ बस्थे। तर, उनको हत्या हुँदा श्रीमती र सहयोगी कसैले थाहा नपाएको विवरण आएका थिए।

पछि यस प्रकरणमा छानबिनको दायरामा तानिए तामाङ। उपत्यका अपराध अनुसन्धान महाशाखाले तान्यो र जिल्ला प्रहरी परिसरले उनलाई नै दोषी देखाएर अदालतमा बुझायो, त्यसबेला। 

सयौं वर्ष पहिलेदेखि काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका मैथिली (तिरहुतिया) परिवारका पूर्वराजदूत झालाई अनुभवी कुटनीतिज्ञका रुपमा परिभाषित गरिन्थ्यो।

झा २४ मार्च १९९३ देखि ३१ डिसेम्बर १९९७ सम्म फ्रान्सस्थित नेपाली राजदूत थिए। राजदूत बनेपछि उनी सहसचिबकै रुपमा परराष्ट्र सेवाबाट निवृत्त भए। 

नेपालको राजदूतका रुपमा पेरिस जानुभन्दा अघि झा परराष्ट्र मन्त्रालयको शिष्टाचार महापाल (चिफ अफ प्रोटोकल) थिए। शिष्टाचार महापालका रुपमा उनको सक्रियता र बहन गरेको भूमिकालाई परराष्ट्र मन्त्रालयमा अहिले पनि स्मरण गरिन्छ ।

परराष्ट्र मन्त्रालयमा रहँदा यूरोप र अमेरिका डेस्क हेरेका झा अमेरिका तथा युरोपेली मुलुकका कुटनीतिज्ञमाझ चर्चित थिए। निजामती सेवाको ३० बर्षे सेवा अवधिको प्रावधानका कारण उनी परराष्ट्र सचिब बन्न पाएनन् ।

अवकाशपछि झाले लामो समयदेखि पूर्वराजदूतहरुको संगठनको नेतृत्व गर्दै आएका थिए।

उनै झाको हत्याकाण्ड सानु कान्छाको रिहाईसँगै अब अझ रहस्यमयी र पेचिलो बनेको छ। प्रहरीले अब उक्त हत्याकाण्डको अनुसन्धान कसरी थाल्छ भन्ने नै अन्यौल रहेको अधिकारीहरू बताउँछन्।

प्रहरी उच्च स्रोतले भन्यो,‘यो हत्याकाण्डको अनुसन्धान गर्नका लागि प्रहरीसँग समय छ। तर कसरी र कहाँबाट सुरु गर्ने भन्नेमा परामर्श हुनेछ।’

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  ११:५४
प्रतिक्रिया दिनुहोस्