काठमाडौं महानगर

काठमाडौंका अभिभावकलाई बालेनले दिए अर्को खुशी, स्कुलको मनोमानीमा हस्तक्षेप

आइतबार, पुस ८, २०८०

काठमाडौंकाठमाडौं महानगरपालिकाभित्र सञ्चालनमा रहेका स्कुलमा अध्ययन गर्ने विद्यार्थीका अभिभावकलाई मेयर बालेन्द्र साह (बालेन)ले अर्को खुसी दिएका छन्।

विद्यालयले जबरजस्त बोझ बनाउन थालेको चाडपर्वका नाममा पोशाक खरिद गर्नैपर्ने उर्दीमाथि चेतावनी दिँदै महानगरपालिकाले कारबाही गर्ने उल्लेख गरेको छ।

क्रिसमसका समयमा विद्यालयमा विद्यार्थीलाई सान्टाका पोशाक लगाउने उर्दी जारी गराइन्थ्यो। अब त्यो नपाउनेगरी महानगरले स्पष्ट भाषामा चेतावनी दिएको छ।

महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले जारी गरेको सूचनामा चाडपर्वका नाममा थरिथरि पोशाक किन्न नलगाउन विद्यालयहरुलाई चेतावनी दिइएको छ।

कोही कसैले यस परिपत्र विपरीत कार्य गरेको पाइएमा काठमाडौं महानगरपालिका शिक्षा ऐन २०७५ (संशोधनसहित) अन्य प्रचलित कानूनबमोजिम दण्ड सजाय हुने व्यहोरासमेत जानकारीका लागि अनुरोध , महानगरले भनेको छ।

महानगरभित्रका स्कुलको अध्ययन प्रणालीमा पनि मेयरको हस्तक्षेप हुने सम्भावना रहेको छ। सरकारी सामुदायिक स्कुलको स्तरोन्नतीका लागि सक्रिय रहेको महानगरले निजी विद्यालयमा पनि हस्तक्षेप गर्ने भएको हो।

नचाहिँदा अनावश्यक भार अभिभावकलाई बोकाउने काम स्कुलले गर्न हुन्न। हामीले नियमकानुन ऐनमा टेकेर नै चेतावनी दिन्छौं, मानेनन् भने कारबाही गर्छौं, महानगरका एक अधिकारी भन्छन्,‘यो अहिलेको खाँचो पनि हो। शक्ति ताकतका भरमा स्कुलले जे पनि गर्न लगाउने काम बाञ्छनीय हुँदैन।

यसअघि महानगरले विभिन्न कलेजले डीआईका नाममा विद्यार्थीलाई मानसिक शारिरिक यातना दिने काममा पनि हस्तक्षेप गरेको थियो। विद्यार्थीहरु आन्दोलित भएपछि महानगरले चासोका साथ कलेजलाई चेतावनी दिएको थियो।

केही दिनअघि मात्र डीआईका नाममा छात्रामाथि भएको मानसिक तथा शारिरीक हिंसाको विरोध भएपछि महानगरमार्फत रेकी पनि थालिएको स्रोतले जनाएको छ। मेयर बालेनले शिक्षा, स्वास्थ्य पूर्वाधारका क्षेत्रमा सह्रानीय थालनी गरेको चर्चा छ।

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १३:५७
प्रतिक्रिया दिनुहोस्