राजनीतिमा त्यो नैतिकता

संस्कृतिमन्त्री बनाउँदा अफताबका बुवा शेख इद्रिसले गिरीजालाई दिएको नैतिक जवाफ यस्तो छ

शनिबार, पुस ७, २०८०

काठमाडौं– नेपाली कांग्रेसका दिवंगत नेता तथा तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाले एक जना पर्यटनमन्त्री नियुक्त गर्दा नैतिक मूल्यको जवाफ पाएको चर्चा भएको छ।

खासगरी पशुपति विकास कोषको समेत जिम्मेवारी रहने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती यतिबेला विवाद र चर्चामा रहेका बेला यो प्रसङ्ग सतहमा आएको छ।

नेपाली कांग्रेसका नेता, पूर्वमन्त्री अफताब आलमका बुवा शेख इद्रिसको त्यो नैतिकवान जवाफले प्रधानमन्त्री कोइराला पनि छक्क परेको बताइएको छ।

कोइरालाले इद्रिसलाई पर्यटनमन्त्री बनाउने प्रस्ताव गरेका थिए । तर, इद्रिसले ‘त्यो मन्त्रालयमा पशुपति बिकास कोष रहेछ,  म मुसलमान भएकोले मलाई यसको जिम्मा नदिनुहोला’ भनेका थिए ।

यहि प्रसङ्गलाई कोट्याउँदै पूर्वसचिव भिम उपाध्याय लेख्छन्,‘यो हो सही धार्मिक नैतिकता र ईमान्दारिता । अहिलेका मन्त्रीहरू आफू हिन्दू र बुद्ध धर्मको बिरोधी परायाधर्मी छन् तर लुबिनी बिकास कोष र पशुपति बिकास कोष जस्ता धार्मिक संस्थाका अध्यक्ष/संरक्षक  बनेका छन् । त्यति मात्र हैन, अरू बिधर्मीहरूलाई पनि यी समितिहरूमा नियुक्ति दिएका छन् । यही हो धर्मको संरक्षण र धर्म निरपेक्षता?’

इद्रिसको त्यो नैतिक राजनीतिको कोइरालाले प्रशंशा गरेका थिए । यसैकारण पनि रौतहटमा नेपाली कांग्रेसको राजनीतिक विरासतलाई कायम राखेका इद्रिसको प्रभाव रहेको थियो ।

उनीपछि छोरा अफताब आलमले इमानका साथ कांग्रेस राजनीतिलाई बलियो बनाए । तर, विभिन्न षडयन्त्र गरेर झूठा आरोपमा पुर्पक्षमा थुनामा राखिएको परिवारका सदस्यले बताएका छन् ।

जिल्ला अदालत रौतहटलाई दबाबमा राखिएका कतिपय प्रमाण समेत फेला परेका छन् । बयानमा नै छेडखानी गरिएको र दबाबमा राखिएका कारण अफताब अहिलेसम्म थुनामुक्त हुन पाएका छैनन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले नै अफताबको राजनीतिक उचाईको चर्चा गर्दै निर्दोष रहेको बताएका थिए ।

प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  १२:०४
प्रतिक्रिया दिनुहोस्