कोरियाबाट फर्किएकाहरुले गरे प्रदर्शन, भाषा परीक्षा तत्काल बन्द गर्न माग   

सोमबार, साउन ८, २०८०

काठमाडौँ– कोरियाबाट फर्किएकाहरुले आफूहरुलाई तुरुन्त रोजगारका लागि कोरिया पठाउन सरकारसमक्ष माग गरेका छन् । 

सोमबार काठमाडौँमा प्रदर्शन गर्दै उनीहरुले ईपिएसको नयाँ भाषा परीक्षा रोकेर आफूहरुलाई रोजगारका लागि पठाउन माग गरेका हुन् । 

उनीहरुले सरकारले कोरियाबाट फर्किएकाहरुलाई विभेदकारी व्यवहार गरेको आरोप लगाए । प्रदर्शनपछि आयोजित पत्रकार सम्मेलनमा कोरियाबाट फर्किएकाहरुका संयोजक नविनकुमार राईले अहिले खुलाईएको भाषा परीक्षा तत्काल बन्द गरेर रिटर्नीहरुलाई पठाउनुपर्ने बताए ।

आफूहरुले पहिला काम गरेको कम्पनीमा फाईल पठाउनका लागि पटक–पटक आग्रह गर्दापनि सम्बन्धित निकायबाट सुुनुवाई नभएको उनको भनाइ छ । उनले नयाँ भाषा परीक्षाको लागि खुलाइएको फर्मको सूचना तुरुन्त नहटाए एचआरडी नेपाल, वैदेशिक रोजगार विभाग र आवश्यक परे कोरियन दूतावास घेर्नेसमेत चेतावनी दिए ।

राईले भाषा परीक्षमा सहभागी भएर, सम्पूर्ण प्रक्रियाहरु पूरा गरी कोरिया जाने अन्तिम चरणमा रहेपनि आफूहरुलाई रोजगारको प्रक्रियामा समावेश नगरिएको भन्दै आपत्ती जनाए ।

त्यस्तै, कोरियाबाट फर्किएका टेकबहादुर थापाले ईपिएस सिस्टममा आफूहरुलाई विभेद गरिएको बताए ।

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १९:०५
प्रतिक्रिया दिनुहोस्