मौद्रीक नीति

आर्थिक गतिविधि प्रोत्साहन हुनेगरि मौद्रीक नीति जारी गर्न राष्ट्र बैंकलाई अर्थ समितिको निर्देशन

बिहीबार, साउन ४, २०८०

काठमाडौँ– प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले आर्थिक गतिविधिलाई प्रोत्साहन हुने गरि मौद्रीक नीति जारी गर्न नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ । 

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले बिगतको नीतिहरुको समिक्षा तथा आगामी आर्थिक चूनौतिहरुको समेत प्रक्षेपण गर्दै आर्थिक गतिविधिलाई प्रोत्साहन हुने गरि मौद्रीक नीति जारी गर्न निर्देशन दिएको हो ।

आन्तरिक उत्पादन र रोजगारी सिर्जनालाई प्रोत्साहन गर्ने गरि ग्रामिण अर्थतन्त्रलाई चलायमान बनाउने नीतिहरु अवलम्वन गर्न पनि समितिले राष्ट्र बैंकलाई निर्देशन दिएको छ भने बैंकहरुले प्रवाह गर्ने कर्जाको सुपरिवेक्षण सम्बन्धी संयन्त्रणलाई प्रभावकारी रुपमा परिचालन गर्न पनि निर्देशन दिएको छ । 

बैठकमा राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारले बजेटमार्फत लिएको नीतिअनुसार नै चालु आर्थिक वर्षको मौद्रिक नीति जारी गर्ने तयारी भइरहेको बताए । उनले गत आर्थिक वर्षका लागि राखिएको मूल्यवृद्धिको सीमा सात प्रतिशत रहेकामा त्योभन्दा माथि नै रहने देखिएको जानकारी दिए । उनले अहिले निक्षेप सङ्कलन राम्रो देखिए पनि कर्जाको बिस्तार घटेको पनि बताउनुभयो । अर्थतन्त्रलाई सन्तुलित अवस्थामा राख्नका लागि राष्ट्र बैंकले उचित निर्णय लिने उनको भनाइ छ । 

बैठकमा समिति सदस्यहरुले उत्पादनशील क्षेत्रमा कर्जा लगानी बढाउन र आन्तरिक उत्पादन बढाउनका आवश्यक मौद्रीत नीति ल्याउनुपर्नेमा जोड दिएका थिए । समिति सदस्य पदम गिरीले धेरै ऋण लिने घरानाका अवस्थाका बारेमा राष्ट्र बैंकले छानविन गर्नुपर्ने बताए ।

त्यस्तै, समिति सदस्य दीपक खड्काले सरकारको खर्चलाई पनि धान्ने र व्यवसायीहरुलाई पनि सहज रुपमा काम गर्ने अवस्था सिर्जना गर्नुपर्ने बताए ।

त्यस्तै, अन्य समिति सदस्यहरुले बैंकिङ क्षेत्रलाई नियमन गरि यस यस क्षेत्रमा देखिएका बिकृतिलाई अन्त्य गर्नुपर्नेमा जोड दिएका थिए । त्यस्तै उनीहरुले सहकारीको समस्यालाई पनि छिटै समाधान गर्नुपर्ने बताएका थिए । 

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १८:४७
प्रतिक्रिया दिनुहोस्