राष्ट्र बैंक भन्छ– पोहोरको वैशाखमा भन्दा यसपाली महंगी कम

शुक्रबार, जेठ २६, २०८०

काठमाडौँ– नेपाल राष्ट्र बैंकले पोहोरको वैशाखमा भन्दा यसपालीको वैशाखमा महंगी कम बढेको तथ्यांक सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्षको १० महिना (वैशाख मसान्त) सम्मको तथ्यांकले यस्तो देखाएको हो । राष्ट्र बैंकका अनुसार २०८० वैशाख महिनामा वार्षिक बिन्दुगत मूल्यवृद्धि दर ७.४१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धि दर ७.८७ प्रतिशत रहेको थियो ।

यो तथ्यांकले गत वर्षको वैशाखको तुलनामा यसवर्षको वैशाखमा कम मूल्यवृद्धिदर भएको जनाउँछ ।

वैशाख महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धिदर ५.५४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्यवृद्धि दर ८.८९ प्रतिशत रहेको छ । 

गत वैशाख महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २६.६१ प्रतिशत, रेष्टुरेण्ट तथा होटलको १४.८७ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.६९ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १०.४१ प्रतिशत र सुर्तीजन्य पदार्थको ८.४९ प्रतिशतले बढेको छ ।

गैर–खाद्य तथा सेवा समूह अन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १५.७५ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको १३.०८ प्रतिशत, शिक्षाको १०.५६ प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ९.६५ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरुको ८.२७ प्रतिशतले बढेको छ ।

वैशाखम महिनामा काठमाडौं उपत्यकामा ७.६८ प्रतिशत, तराईमा ७.१५ प्रतिशत, पहाडमा ७.५७ प्रतिशत र हिमालमा ७.१२ प्रतिशत मूल्यवृद्धि रहेको छ । २०७९ वैशाख महिनामा यी क्षेत्रहरुमा क्रमशः ७.३९ प्रतिशत, ८.१५ प्रतिशत, ७.८९ प्रतिशत र ८.२१ प्रतिशत मूल्यवृद्धि रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  १४:२४
प्रतिक्रिया दिनुहोस्