रेशमले पाएको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

बुधबार, जेठ १७, २०८०

काठमाडौं-  पूर्वसांसद एवम् नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीविरुद्धको मुद्दामा आज सुनुवाई हुँदैछ ।

टीकापुर हत्याकाण्डका दोषी ठहर भई सजाय काटिरहेका चौधरीलाई राष्ट्रपतिले आममाफी दिएपछि शारदा बोहरा कडायतले सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका थिए ।

आइतबार दर्ता गराएको रिट निवेदन सुनुवाइ गर्न आजका लागि अदालतले पेसी तोकिएको हो । शारदा सो घटना परी मारिएका प्रहरी निरीक्षक केशव बोहराका पत्नी हुन् ।

हत्याकाण्डका मुख्य योजनाकारका रुपमा रेशमविरुद्ध कैलाली जिल्ला, दिपायल उच्च अदालतले गरेको जन्मकैदको फैसलालाई सर्वोच्च अदालतले गत जेठ २ गते मात्रै सदर गरेको थियो । तर, गणतन्त्र दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि रेशम यही जेठ १५ गते डिल्लीबजार कारागारबाट रिहा भइसकेका छन् ।

आममाफी नदिएको भए चौधरी २०९४ सालसम्म जेलमा नै बस्नु पर्ने थियो । अदालतको फैसाला अनुसार थप १४ बर्ष जेल बस्नु पर्नु भए पनि आममाफी पछि सो कैद मिनाहा भएर उनी निस्कन सफल हुन पुगेका हुन् ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले चौधरीलाई रिहा गरिदिएपछि तिब्र सन्तुष्टि जनाउँदै बोहरा पत्नी शारदा सर्वोच्च अदालत गएका हुन् ।

नयाँ संविधान जारी हुनु अगाडी थरुहट प्रदेशको माग गर्दै भएको आन्दोलनले हिंसात्मक रूप लिँदा कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते एक बालकसहित सात सुरक्षाकर्मीसहित आठजनाको बिभत्स हत्या मभएको थियो ।

 

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  ०७:३५
प्रतिक्रिया दिनुहोस्