अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्र : मुनाफाका सङ्केत प्रशस्त

आइतबार, वैशाख ३१, २०८०

काठमाडौं –नेपालमा विदेशी चलचित्रले राम्रो कमाइ गरिरहँदा विदेशमा नेपाली चलचित्रले पनि आफूलाई अब्बल साबित गरिरहेको छ । गुणस्तरीय चलचित्र बनाउने मात्र होइन, विदेशमै छायाङ्कन गरेर त्यहीँ चलचित्र भवन (हल) मा प्रदर्शन भइरहेका छन्। नेपाली माटोको सुन्दरता र मौलिकता चलचित्रमार्फत देखाउने प्रयासमा चलचित्रकर्मी छन् । 

पछिल्लो समय नेपाली चलचित्रले लगानी उठाउने मात्र नभई विदेशी बजारबाट मुनाफासमेत प्राप्त गर्न थालेको छ । नेपालमा राम्रो भनिएका र प्रतिष्ठित समूहले निर्माण गरेका चलचित्रलाई विदेशमा रहेका दर्शकले हेर्न लालायित हुने भएकाले पनि विदेशबाट राम्रै मुनाफा स्वदेश भित्रिने गरेको छ । मुनाफासँगै यसले बजार विस्तारमा टेवा पु¥याइरहेको छ । 

उनको निर्देशनमा तयार हुने ‘जात्रा’ को तेस्रो शृङखंलासमेत विदेशमा बिक्री भइसकेको छ । यो चलचित्र बन्ने आधिकारिक घोषणा नभए तापनि पछिल्लो चलचित्रको व्यापारको आधारमा बिक्री भइरहेको हो । विशेषतः विदेशमा मौलिक नेपालीपन बोकेको चलचित्रको बजार बलियो देखिएको छ । सरल नेपाली चलचित्र हेर्न परिवार नै साथै आउने गरेका छन् । 

पछिल्लो समय बजार विस्तार मात्र भएको छैन कि प्रदर्शन गर्ने शैली पनि परिवर्तन भएको छ । संयुक्त राज्य अमेरिकामा नेपाली चलचित्र प्रदर्शन गर्ने कम्पनीमध्येको एक नेपाल इलाभेन इन्टरटेनमेन्ट एलएलसीका निर्देशक प्रतीक सुवेदीले केही निर्माताका चलचित्रले राम्रै दर्शक पाइरहेको बताए । ‘समय मिलाएर आउनुपर्ने भएकाले नेपालमा पाउने समीक्षाले यहाँ विशेष प्रभाव पार्छ । हामीले विदेशी झैँ नेपाली चलचित्र प्रदर्शन गरिरहेका छौँ’, उनले भने, ‘यहाँ सपरिवार हेर्न मिल्ने नेपाली स्वादको चलचित्र प्राथमिकतामा पर्ने गरेका छन् ।’

उनले अमेरिकासँगै क्यानडा, बेलायतमा समेत चलचित्र भवनमै प्रदर्शन गर्छन् । रेस्टुरेन्ट, सामुदायिक भवनसँगै व्यक्तिगत रूपमा हल बुक गरेर चलचित्रको प्रदर्शनी गर्ने शैलीमा परिवर्तन आएको छ । प्रदर्शक तथा वितरक सुवेदीका अनुसार व्यक्तिगत सोका रूपमा केही घन्टाका लागि चलचित्र भवन भाडामा लिएर देखाइने चलचित्र हेर्न तिर्नुपर्ने शुल्क बक्स अफिसमा टिकट काटेर हेरिएका चलचित्रभन्दा महँगो पर्न जान्छ ।

‘बुक गरेर प्रदर्शन गर्दा ३० डलरसम्म पर्ने गरेको हुन्छ । त्यसबाहेक सम्पूर्ण व्यवस्थापन प्रदर्शक स्वयंले गर्नुपर्छ । तर बक्स अफिसमा प्रदर्शन गर्दा हामीलाई त्यो झन्झट हुँदैन । साथै आफूलाई पायक पर्ने समयमा दर्शकले समेत हेर्न पाउँछन्’, प्रदर्शक सुवेदीले भने । उनले ‘प्रेम गीत ३’, ‘महापुरूष’, ‘जारी’ लगायतका चलचित्र नियमितरूपमै प्रदर्शन गरे । 

‘कबड्डी’ शृङखंलामार्फत स्थापित निर्देशक बनेका निर्माता तथा निर्देशक रामबाबु गुरुङले आउँदो दुई चलचित्र ‘कबड्डी ५’ र ‘म हुँ डिग्री माइला’ विदेश प्रदर्शन अधिकार लगभग बिक्री भइसकेको जानकारी दिए । गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘कबड्डी ४ ः द फाइनल म्याच’ को व्यापारले गर्दा आफ्ना आगामी दुई चलचित्र नबन्दै बिक्री भएको उनको बुझाइ छ । 

निर्देशक गुरुङले भने, ‘कबड्डीदेखि हाम्रो समूहमार्फत तयार भएको चलचित्रको विदेशी बजार बढिरहेको छ । अहिले चलचित्र निर्माण गर्न हामीलाई विषयवस्तुमा मात्र चुनौती हो । लगानीका हिसाबले हामी ढुक्क हुने अवस्था अन्तर्राष्ट्रिय बजारबाट नै छ ।’

अष्ट्रेलियामा नेपाली चलचित्रको बजारलाई नजिकबाट बुझ्नुभएका रङ्ग पत्रकार राजन घिमिरेले सीमित चलचित्रकर्मीको चलचित्र निर्माण अगावै बिक्री हुने गरेको जानकारी दिए । ‘अहिले विदेशी बजारमा खोजिएको जस्तो चलचित्र बनाउन सके बजार विस्तारसँगै मुनाफा पनि आर्जन गर्न सकिन्छ’, पत्रकार घिमिरेले भने । 

निर्माणकै क्रममा ‘पशुपति प्रसाद २ : भष्मे डन’, ‘दिमाग खराब’,‘नाङ्गो गाउँ’ को विदेश प्रदर्शन अधिकार बिक्री भइरहेको छ । अहिले बढिरहेको बजारलाई दीर्घकालीन रूपमा व्यवस्थित बनाउनुपर्ने निर्देशक दीपेन्द्र लामाले बताए । ‘विदेशमा रहेका चलचित्र प्रेमीका कारण बजार बढिरहेको छ । यसमा सम्बन्धित निकायले पहल गर्नसके यसको प्रत्यक्ष लाभ चलचित्रकर्मीलाई नै हुनेछ’ उनले भने । 

निर्मातासँगै कलाकारसमेत रहेका रवीन्द्रसिंह बानियाँलाई व्यक्तिगतरूपमा रेस्टुरेन्ट, सामुदायिक भवनमा चलचित्र देखाइएको अनुभवसमेत छ । उनी निर्मित ‘टल्क जङ्ग भर्सेस टुल्के’ नेपालबाहेक अन्य धेरै देशमा प्रदर्शन भएको थियो । त्यो समयमा विदेश प्रदर्शनभन्दा पनि भिसिडी अधिकारी बिक्री गर्ने प्रचलन थियो ।

यो वर्ष पनि नेपाली चलचित्रको उपस्थिति अन्तर्राष्ट्रिय बजारमा राम्रो देखिनेछ । किनकी दसैँ तिहारसम्म प्रदर्शन घोषणा भएका प्रतिष्ठित समूहका चलचित्रको प्रदर्शन अन्तर्राष्ट्रिय बजारमा समेत नेपालसँगै हुँदैछ । बजार विस्तारमा चलचित्र विकास बोर्डले पनि अध्ययन गरिरहेको सदस्य रवि अधिकारीले जानकारी दिए । बोर्डअन्तर्गत रहेको ‘चलचित्रको अन्तर्राष्ट्रिय प्रवर्द्धन समिति’ का संयोजकसमेत रहेका अधिकारीले कार्ययोजनाअनुरूप कामलाई अगाडि बढाउने बताए । रासस
 

प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  १४:१४
प्रतिक्रिया दिनुहोस्