नेपालीले विदेश घुम्दा सके साढे २४ अर्ब, विदेश पढ्न लगे ६७ अर्ब १९ करोड

बुधबार, वैशाख २७, २०८०

काठमाडौँ– नेपालको सेवा आय घाटामा रहेको छ । खासगरी नेपाल घुम्न आउने पर्यटकले ल्याएको रकमभन्दा बढी नेपालीले विदेश जाँदा खर्च गरेका कारण सेवा आय घाटामा देखिएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार गत चैत मसान्तसम्ममा खुद सेवा आय ५६ अर्ब २६ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ७९ अर्ब २८ करोड रुपैयाँले घाटामा रहेको थियो ।

सेवा खाताअन्तर्गत भ्रमण आय ९४.३ प्रतिशतले बढेर ४४ अर्ब १७ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकको भनाइ छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २२ अर्ब ७३ करोड रुपैयाँ थियो ।

सेवा खाता अन्तर्गत भ्रमण व्यय ३९.८ प्रतिशतले वृद्धि भई ९१ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । यसमध्ये शिक्षातर्पmको व्यय ६७ अर्ब १९ करोड रहेको छ । नेपालीले विदेश घुम्दा नै २४ अर्ब ४१ करोड रुपैयाँ सकेको तथ्यांकले देखाएको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ६५ अर्ब ५४ करोड रुपैयाँ रहेकोमा शिक्षातर्फको व्यय ४३ अर्ब ६७ करोड रुपैयाँ थियो ।

२४ प्रतिशतले बढ्यो रेमिटान्स

रेमिटान्स आप्रवाह २४.२ प्रतिशतले वृद्धि भई ९ खर्ब ३ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.२ प्रतिशतले घटेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.९ प्रतिशतले वृद्धि भई ६ अर्ब ९२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.८ प्रतिशतले घटेको थियो ।

वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५१.५ प्रतिशतले वृद्धि भई ३ करोड ८७ लाख ८३९ पुगेको छ । 

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ५.५ प्रतिशतले वृद्धि भई २ लाख १७ हजार ९५९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १९९.९ प्रतिशतले बढेको थियो ।
 

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १३:०३
प्रतिक्रिया दिनुहोस्