चैतको मूल्यबृद्धि करिब ८ प्रतिशत, मर–मसला सबैभन्दा महंगो 

बुधबार, वैशाख २७, २०८०

काठमाडौँ– चैत महिनाको मूल्यबृद्धि करिब ८ प्रतिशत भएको छ । अघिल्लो आर्थिक वर्षको चैत मसान्तको तुलनामा सो बृद्धि देखिएको हो ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकले यस्तो देखाएको हो । राष्ट्र बैंकका अनुसार चैत महिनाको मूल्यबृद्धि ७.७६ प्रतिशत छ । गत आर्थिक वर्षको चैत महिनामा यस्तो मूल्यबृद्धि ७.२८ प्रतिशत थियो ।

चैत महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यबृद्धि ६.९३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्यबृद्धि ८.४२ प्रतिशत छ । 

खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत रेस्टुरेन्ट तथा होटल उप–समूहको वार्षिक बिन्दुगत मूल्य १४.६८ प्रतिशत, मरमसलाको १४.६७ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.७२ प्रतिशत, फलफूलको ११ प्रतिशत र सुर्तीजन्य पदार्थको १०.८३ प्रतिशतले मूल्य बढेको छ । 

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत स्वास्थ्य उप–समूहको १०.३९ प्रतिशत, घरायसी उपयोगका वस्तुहरूको ९.५४ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको ८.८१ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरुको ८.७४ प्रतिशत र शिक्षाको ८.६७ प्रतिशतले मूल्य बढेको छ । 

राष्ट्र बैंकका अनुसार गत चैत महिनामा काठमाडौँ उपत्यकामा ८.५७ प्रतिशत, तराईमा ७.६८ प्रतिशत, पहाडमा ७.०१ प्रतिशत र हिमालमा ७.४७ प्रतिशतले मूल्य बढेको छ । 

२०७८ चैत महिनामा यी क्षेत्रहरुमा क्रमशः ६.२५ प्रतिशत, ७.६१ प्रतिशत, ७.७९ प्रतिशत र ८.२५ प्रतिशत मूल्यबृद्धि थियो ।

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १२:३२
प्रतिक्रिया दिनुहोस्