आरजुप्रति लक्षित गर्दै तोसिमाले भनिन्–भ्रष्टाचारमा पनि लिङ्ग हुन्छ ?

मंगलबार, वैशाख २६, २०८०

काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले नेपाली कांग्रेसकी नेतृ डा. आरजु देउवाप्रति कटाक्षा गरेकी छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद डा. कार्कीले आरजुतर्फ संकेत गर्दै भ्रष्टाचारमा कहाँ लिङ्ग जोडिएको हुन्छ? भन्दै प्रश्न गरेकी हुन् । 

आइतबारको संसद बैठकमा भुटानी शरणार्थी प्रकरणको टेप काण्डको अनुसन्धान माग गर्दा आरजुले महिला हिंसा भन्दै गुनासो गरेकी थिइन् । आरजुले भनेकी थिइन्, ‘नारीले आफ्नो हैसियतमा राजनीति गरेको यो देशमा सह्य हुँदैन । पुरुषले भनेको ठाउँमा मात्र नारी बस्नुपर्ने उनीहरूले भनेको मात्र गर्नुपर्ने । जति विरोध गरे पनि मैले बिराएको छैन, म डराउँदिनँ ।’

‘एक महिला माननीयज्यूले भन्नुभयो टेप काण्डको अनुसन्धान माग गर्दा महिला विद्रोही भयो, महिला हिंसा भयो । मलाई उत्तर दिनुप¥यो भ्रष्टाचारमा कहाँ लिङ्ग जोडिएको हुन्छ ? भ्रष्टाचारीमात्र होइन यहाँ चिनारी फेरिएर राष्ट्रघात भएको छ । अपराध भएको छर कारबाही हुनुपर्छ,’ उनले भनिन् । 

साथै उनले भुटानी शरणार्थी प्रकरणका दोषिलाई पक्राउ पुर्जी जारी गर्दा समेत जोगाउन खोजिएको बताउँदै काण्ड गरेर देश डुबाउने अनि के मुखले अनुदान माग्न जाने? भन्दै प्रश्न गरेकी हुन् । 

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश लैजानेलाई सरकारले नै जोगाउन खोजेको समेत कार्कीले बताइन् ।

उनले अन्तर्राष्ट्रियस्तरमा राज्यलाई दलाल स्थापित गर्न खोजेको आरोप समेत लगाइन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  १२:४९
प्रतिक्रिया दिनुहोस्