संवैधानिक परिषद् बैठकको बैठक सोमबार

आइतबार, वैशाख २४, २०८०

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड’ले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । बैठक सोमबार बेलुका ६ बजे सिंहदरबारमा तय गरिएको छ ।

बैठकमा प्रधानन्यायाधीश सिफारिसबारे छलफल हुने जनाइएको  छ ।  प्रधानमन्त्री प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार छलफलपछि संवैधानिक परिषद् बैठक बोलाइएको हो ।

यसअघि वैशाख ७ गते संवैधानिक परिषद्  बैठक बसेको थियो । बैठकमा प्रधानन्यायाधीश सिफारिसबारे कुनै निर्णय हुन सकेन । बैठकमा एमाले अध्यक्ष ओलीले संदीय सुनुवाइ विशेष समिति गठन पछि मात्रै प्रधानन्यायाधीश सिफारिसबारे छलफल हुनुपर्ने अडान राखेका थिए ।

संवैधानिक परिषद् बैठकले सिफारिस गरेका व्यक्ति संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने व्यवस्था छ ।

सर्वोच्च अदालत १ फागुन २०७८ देखि प्रधानन्यायाधीविहीन छ । लामो समयदेखि सर्वोच्च कायममुकायम प्रधानन्यायाधीशको भरमा चलिरहेको छ ।

संवैधानिक परिषद्ले प्रधानन्यायाधीशको नाम सिफारिस गरेपछि संसदीय सुनुवाइ समितिले सुनुवाइ गर्नेछ । तर, हालसम्म सार्वजनिक सुनुवाइ विशेष समिति गठन हुन सकेको छैन ।

प्रमुख दलहरूबीच समितिको भागबण्डामा नमिल्दा प्रतिनिधिसभा अन्तरगतको संसदीय समिति गठन हुन सकेको छैन ।
 

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  ११:४६
प्रतिक्रिया दिनुहोस्