परराष्ट्रमन्त्री साउदले दिए बेलायती प्रधानमन्त्री सुनकलाई नेपाल भ्रमणको निम्तो

आइतबार, वैशाख २४, २०८०

लन्डन - परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले बेलायती प्रधानमन्त्री ऋषि सुनकलाई नेपाल भ्रमणको निम्तो दिएका छन्।

बेलायतका राजा चार्ल्स तृतीय तथा रानी क्यामिलाको राज्याभिषेक समारोहमा सहभागी हुन लन्डन आएका मन्त्री साउदले शुक्रबार बकिङघम राजदरबारमा पाहुनाका लागि आयोजित रिसेप्सनमा बेलायती प्रधानमन्त्री सुनकलाई भेटेका थिए ।

मन्त्रीले संक्षिप्त कुराकानीका क्रममा प्रधानमन्त्रीलाई एकपटक नेपाल आइदिन अनुरोध गरेको दूतावास स्रोतले जनायो । ‘बेलायत-नेपाल सम्बन्धको दुई सय वर्ष बढी हुँदासमेत बेलायती प्रधानमन्त्रीको एकपटक पनि नेपाल भ्रमण हुन सकेन । हामी तपाईंलाई नेपालमा स्वागत गर्न आतुर छौं’, परराष्ट्रमन्त्रीको भनाइ उधृत गर्दै दूतावास श्रोतले भन्यो । पहिलो एसियालीमूलका प्रधानमन्त्री सुनकले भारत भ्रमण गर्ने चर्चा चलिरहंदा नेपाल समेत आइदिन नेपालका तर्फबाट आग्रह भएको हो ।

यसअघि पनि बेलायतका प्रधानमन्त्रीलाई नेपाल भ्रमण गराउन सरकार तथा निजीस्तरबाट कयौं प्रयत्न भए पनि त्यो सफल हुन सकेको छैन।

परराष्ट्रमन्त्री साउदले रिसेप्सनमा राजा चार्ल्स तृतीय र अन्य राजपरिवार सदस्यहरु, विदेशमन्त्री जेम्स क्लेभर्ली, मन्त्रीहरु र विश्वका अन्य नेताहरुसँग समेत भेटघाट गरी संक्षिप्त कुराकानी गरेको लन्डनस्थित नेपाली दूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।

शनिबार लन्डनको ऐतिहासिक वेस्टमिन्स्टर आबीमा आयोजित विशेष समारोहमा परराष्ट्रमन्त्री साउद आफ्नी जीवनसंगिनीका साथ सहभागी भएका थिए । ७० वर्षपछि भएको उक्त राज्याभिषेक समारोहमा ९० मुलुकका राष्ट्राध्यक्षसहित विश्वभरबाट झन्डै दुई हजार दुई सय विशिष्ट पाहुना सहभागी थिए ।

सो अवसरमा राजालाई राजमुकुट र उनकी पत्नी क्यामिलालाई पनि रानीको रुपमा मुकुट पहिर्‍याइएको थियो।

उता, परराष्ट्रमन्त्री साउदले शुक्रबार लन्डनस्थित नेपाली दूतावासमा बेलायती संसद्‌मा नेपालसम्बन्धी सर्वदलीय संसदीय समितिका अध्यक्ष वीरेन्द्र शर्मा, उपाध्यक्ष लर्ड बिलिमोरिया, पूर्वगोर्खा सैनिकलगायतसँग भेट गरेको दूतावासले जनाएको छ।

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  ०७:३६
प्रतिक्रिया दिनुहोस्