नक्कली शरणार्थी प्रकरणपछि प्रधानमन्त्रीलाई किन पटक–पटक भेटछन् एमाले अध्यक्ष ओली

शनिबार, वैशाख २३, २०८०

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार भेटवार्ता भएको छ ।  

नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दा बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डसँग एमाले अध्यक्ष ओलीले पटक पटक भेटवार्ता गरेका छन् । प्रचण्ड र ओलीबीच समसामयिक राजनीतिक, आगामी आर्थिक वर्षको बजेट र भुटानी शरणार्थी प्रकरणबारे छलफल भएको जनाइएको छ । 

प्रधानमन्त्रीका प्रेस संयोजक सुर्यकिरण शर्माका अनुसार शनिबार दुई अध्यक्षबीच समसामायिक विषयमा छलफल भएको र विशेष विषय वस्तुबारे जानकारी आएको छैन ।

नक्कली शरणार्थी प्रकरणपछि प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच यो दोस्रो भेट हो । बिहीबार पनि ओली यसै प्रकरणबारे बुझ्न प्रधानमन्त्रीको कार्यालय सिंहदरबार पुगेर प्रचण्डसँग छलफल गरेका थिए । 

त्यस भेटमा शरणार्थी प्रकरणमा मुछिएका बहालवाला सांसद् टोपबहादुर रायमाझीलाई पक्राउ पूर्जी जारी गरेकोमा ओलीले आपत्ति व्यक्त गरेका थिए । बहालवाला सांसद् र मन्त्री बनिसकेको मान्छे कतै भागेर नजाने भन्दै बाटोमै पक्राउ गर्नु गलत भएको ओलीको भनाई थियो ।

एमाले सचिव रायमाझी भने अहिले सम्पर्कविहीन छन् । प्रहरीलाई सहयोग गर्ने बताएका उनी अहिले कसैको सम्पर्कमा छैनन् ।

सरकारको सिफारिसमा राष्ट्रपतिले आइतबारबाट बजेट अधिवेशन आह्वान गरेका छन् । यसैगरी एमाले, कांग्रेसलगायतका शीर्ष नेताहरू भुटानी शरणार्थी प्रकरण मुछिएपछि प्रधानमन्त्रीसँग ओलीको भेटलाई अर्थपूर्णरूपमा हेरिएको छ । 


 

प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  १३:४८
प्रतिक्रिया दिनुहोस्